• Thursday 10th of September 2026

नेकपा एसद्वारा सङ्घ र प्रदेशको उम्मेदवारी सिफारिस


  • आशाका किरण

नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) कालीकोटले आगामी मङ्सिर ४ हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि १३ उम्मेदवारको नाम सिफारिस गरेको छ ।

एक मात्र सङ्घीय निर्वाचन क्षेत्रका लागि पाँच जनाको र दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभाका लागि आठ जनाको नाम सिफारिस गरेर प्रदेश तथा केन्द्रमा पठाइएको हो । सङ्घीय निर्वाचन क्षेत्रका लागि तुलाराज विष्ट, लालबहादुर मल्ल, दानबहादुर विक, कृष्णकला पाण्डे, राजुसिंह दर्जीलाई नाम सिफारिस गरिएको पार्टी जिल्ला सचिव खडानन्द चौलागाइँले जानकारी दिनुभयो ।

“केन्द्रको निर्देशन अनुसार नै नाम सिफारिस गरेर पठाएका छौँ । ”उहाँले भन्नुभयो,“आगामी निर्वाचनको तयारीमा पार्टी लागेका कारणले उम्मेदवारको नाम छनोट गरेर पठाएका हौँ ।”दुई वटा प्रदेशसभा रहेको जिल्लामा प्रदेश(क) बाट कुर्मराज शाही, विजया विष्ट, रवीन्द्र शाही, आशा शाही नाम सिफारिस गरिएको सचिव चौलागाईँले जानकारी दिनुभयो । प्रदेश निर्वाचन क्षेत्र (ख) बाट विश्वराज बम, तुलाराज सिम्खडा, दुर्गा शाही (न्यौपाने) र जडेनी बमलाई सिफारिस गरिएको छ ।

यही भदौ १० गतेभित्र उम्मेदवार सिफारिस गरिसक्नु पर्नेमा एकीकृत समाजवादीले जिल्ला कमिटी र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका बैठकबाट सर्वसम्मत नाम सिफारिस गरेर पठाएका सचिव चौलागाईंले जानकारी दिनुभयो । “पार्टी पूर्ण रुपमा निर्वाचनमा होमिएको छ ।” उहाँले भन्नुभयो,“पार्टी केन्द्रको निर्देशन अनुसार अहिले हामी गाउँ गाउँमा निर्वाचनका लागि अभियान नै सञ्चालन गरेका छौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij