• Thursday 10th of September 2026

पीडितले न्याय पाउनेगरी विधेयकलाई अघि बढाइनुपर्छ : सांसद


  • आशाका किरण

सांसदहरुले बास्तविक पीडितले न्याय पाउनेगरी बेपत्ता छानविन, सत्यनिरुपण तथा मलेमिलाप आयोग संशोधन विधेयकलाई अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयक उपर सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसदहरुले विस्तृत शान्तिसम्झौताको भावना, सङ्क्रमणकालीन न्यायनिरुपणको सिद्धान्तअनुरुप समस्याको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

विस्तृत शान्तिसम्झौता भएको १६ वर्ष बितिसक्दा पनि विधेयकको टुङ्गो लाग्न नसक्नुले पीडितलाई थप पीडाबोध गराएको भन्दै उहाँहरुले विधेयकलाई अघि बढाएर पीडितलाई न्याय दिलाउन विलम्ब गर्न नहुने धारणा राख्नुभयो । विधेयकमा रहेका कतिपय प्रावधानलाई संशोधन गरेर लैजानुपर्ने उहाँहरुकोे सुझाव छ ।

मानवअधिकार उल्लङ्घनका घटनाका दोषीलाई कानूनी दायरामा ल्याउने प्रावधानको व्यवस्था गरिनुपर्ने, राष्ट्रिय सहमतिका आधारमा टुङ्गोमा पु-याइनुपर्ने विधेयकलाई टुङ्गोमा पु-याउन सबैको सक्रिय भूमिका अपरिहार्य रहेको खाँचो औँल्याउनुभयो । यो कुनै पार्टी वा संस्थाको समस्या नभई राज्यको समस्या भएकाले द्वन्द्वका कारणको खोजी गरी द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण गरिनेगरी विधेयकलाई अघि बढाइनुपर्नेमा पनि सांसदहरुको जोड थियो ।

यसरी आफ्नो धारणा राख्नेमा प्रदीप ज्ञवाली, यशोदा गुरुङ सुवेदी, कृष्णभक्त पोखरेल, दिव्यमणिराज भण्डारी, गोकुलप्रसाद बाँस्कोटा, प्रेम सुवाल, रेखा शर्मा, डा डिला सङ्ग्रौला पन्त, डा विजय सुब्बा, अमृता थापा, घनश्याम खतिवडा, प्रकाश रसाइली ‘स्नेही’, हीतबहादुर तामाङ, केदार सिक्देल, नारायणप्रसाद खतिवडा, गणेश पहाडी, डा शिवमाया तुम्बाहाम्फे, शेरबहादुर तामाङ, विन्दा पाण्डे, महेश बस्नेत, टेकबहादुर बस्नेत र खेमप्रसाद लोहोनीले धारणा राख्नुभएको थियो ।

त्यसैगरी सांसद खेमप्रसाद लोहनी, भीमबहादुर रावल, खगराज अधिकारी, नवराज सिलवाल, शान्तीमाया तामाङ पाख्रीन, दुर्गाकुमारी विश्वकर्मा, अञ्जना विशङ्खे, राजेन्द्रकुमार केसी, रामबहादुर विष्ट, पदम गिरी, शक्तिबहादुर बस्नेत, मनकुमारी जिसी, मायादेवी न्यौपाने र विद्या भट्टराईले बोल्नुभएको छ ।

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij