• Thursday 10th of September 2026

काठमाडौं ३ मा प्रतिनिधि सभाकोलागि एमालेबाट ३ जनाको बलियो दाबेदारी,कसले मार्ला बाजी ?


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको घोषणासंगै देशभर चुनाबी सरगर्मी बढ्न थालेको छ ।

देशनै चुनावमा होमिन थालेको बेला काठमाडौं ३ अछुतो रहने कुरै भएन । देशको ठूलो राजनैतिक दल एमाले काठमाडौं ३ मा समेत चुनाबी सरगर्मी बढेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाब नजिकिएसंगै धेरैले दाबेदारी प्रस्तुत गर्न थालिसकेका छन् ।

मुख्यत एमाले काठमाडौं ३ मा प्रतिनिधि सभाको लागि हालका प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राईले आफुलाई एकल दाबेदारको रुपमा प्रस्तुत गरेपनि यो पटक मैदानमा एमाले बागमती प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ र अधिल्लोपटक कृष्ण राईलाई सर्वसम्मत उम्मेदवार बनाउन भुमिका खेलेका पुण्यप्रसाद चौलागाईंले बलियो दाबेदारी प्रस्तुत गरेका छन् ।

पटक पटक टिकट दिउँला भनेर थामिएका र हरेक चोटि निराश भएका हरिकृष्ण श्रेष्ठ  र अघिल्लो स्थानीय चुनाबमा मेयरको टिकट पाएर हारेका र दोश्रो पटक टिकट नपाएर अन्न्यामा परेका पुण्यप्रसाद चौलागाईं यो पटक कृष्ण राईको राजनैतिक जालमा पर्ने छाँटमा देखिँदैनन् ।

रामेश्वर फुयाल प्रदेशसभामा उम्मेदवारी दिने मनस्थितिमा रहेका कारण यो पटक नेकपा एमाले काठमाडौं ३ को टिकटको लडाइँ पेचिलो बन्दै गएको छ ।
ड्रीम हाउस लगाएतका काण्ड लागेको र ५ वर्ष केही नगरी बिताएको आरोप लागेका एमाले पोलिटब्युरो सदश्य कृष्ण राईलाई यो पटक चुनब जित्न त्यति सजिलो भने छैन ।

उनी निकटका प्रभावशाली नेताहरुले राईलाई समानुपातिकमा बसेर नेतृत्व पुस्तान्तरण गर्न सुझाब दिईसकेको बुझिएको छ ।

राष्ट्रिपति बिद्या भण्डारी नजिक मानिने राईले केही समय अगाडि बिग्रेकी छवि मेटाउन र आफ्नो पक्षमा माहोल बनाउन राष्ट्रपति कार्यलयमा २०-२५ जना एमालेका अगुवा कार्यकर्ता भेला गरेतापनी अधिकांशले कृष्ण राईको बिरोध गरेका थिए ।

अधिकांशले पार्टी एकल ढंगबाट र स्वेच्छाचारी तरिकाले चलाएर काठमाडौं ३ मा पार्टी कमजोर बनाउन राई लागेको बताएका थिए ।
कृष्ण राईले चुनाब नजित्ने र राष्ट्रिय राजनीतिमा १ सिटको ठूलो भुमिका हुने भन्दै त्यो गुम्न नदिन हरिकृष्ण श्रेष्ठ र पुण्यप्रसाद चौलागाईं आफ्नो पक्षमा माहोल बनाउन आन्तरिक भेटघाटमा लागिसकेको बुझिएको छ ।

मंसिर ४ मा ३ नै जनालाई टिकट पाउन र जित्न भने सजिलो छैन । ३ जनाकै वडामा एमालेले बैशाखमा सम्पन्न स्थानिय चुनाबमा वडा अध्यक्ष जित्न सकेका छैनन् ।आफ्नो वडामा वडा अध्यक्ष जिताउन नसकेको भन्दै ३ जना कै क्षेत्रभरी कार्यकर्ताले आलोचना गर्ने गरेका छन् ।

यस्तो थियो अघिल्लो निर्वाचनको अंकगणित

२०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं ३ बाट नेकपा एमालेका कृष्ण राई नेपाली कांग्रेसकी अम्बिका बस्नेत लाई पराजित गर्दै विजयी भएका थिए।

सो निर्वाचनमा राईले १९१६९ मत प्राप्त गरेका थिए भने बस्नेतले १४८८४ मत प्राप्त गरेकी थिइन्।

अघिल्लो निर्वाचनमा ४२८५ मत अन्तरले विजयी बनेका राई २०७९ सालको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षका  उम्मेदवारहरुले प्राप्त गरेको मत परिणाममा  भने पछाडी देखिएका छन।

काठमाडौं महानगरको १  ,कागेश्वरी मनोहरा नगरपालिकाका ३  र गोकर्णेश्वर नगरपालिकाका ९ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ३ मा ७  वटा वडाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन्   भने ५  वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका थिए । यस निर्वाचन क्षेत्रमा एक वडा अध्यक्ष स्वतन्त्र रहेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको  मत परिणाम अनुसार काठमाडौं  ३ मा नेपाली कांग्रेसका वडा अध्यक्षहरुले कुल १५७९५ मत प्राप्त गरेका थिए  भने नेकपा एमालेका वडा अध्यक्षका  उम्मेदवारहरुले १४८७४ मत प्राप्त गरेका थिए । काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमाले भन्दा बलियो देखिएको नेपाली कांग्रेस ९२१ मतले नेकपा एमाले भन्दा अगाडी रहेको छ।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवारहरुले १७६२,नेकपा एकीकृत समाजवादीले १०२४ र राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल मत १३१४ प्राप्त गरेका थिए।

उद्धव विष्ट सबैका थ्रेट

नेकपा एमाले गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष उद्धव विष्ट कृष्ण राई,पुण्यप्रसाद चौलागाईं र हरिकृष्ण श्रेष्ठ ३ जनाको लागि खतराको घण्टी बन्ने संकेत काठमाडौं ३ मा देखिन थालेको छ ।

विष्टले मेयरको टिकट दिएर नेतृत्वबाट असहयोग भएको भनेर हालका प्रतिनिधि सभा सदस्य कृष्ण राईलाई इङिग्त गर्दै पार्टीको विभिन्न वडा कमिटिको समिक्षामा गुनासो पोख्दै हिडेका थिए ।

त्यस्तै गोकर्णेश्वर ४ र ५ मा आफुलाई घोबी हराएको भनेर हारको कारण हरिकृष्ण श्रेष्ठ र पुण्यप्रसाद चौलागाईं हो भनेर उद्धव विष्टले कार्यकर्तालाई गुनासो पोख्न थालिसकेका छन् ।

अघिल्लो स्थानिय चुनावका बेला विष्ट समाजको अधिवेशनमा खटेर पार्टीलाई सहयोग नगरी हराउन लागेको आरोप खेपेका उद्धव विष्ट यो पटकको स्थानीय चुनावमा आफुपनी अन्तरघातको सिकार भएका थिए । उनी निकट कार्यकर्ता यो पटक हिसाब बराबर गर्ने दाउमा रहेको बुझिन्छ।

धरापमा सांसद कृष्ण राई

काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विच गठबन्धन बन्दा वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत १८५८१ हुन्छ भने नेकपा एमाले र राप्रपाको  गठबन्धन बनेको खण्डमा दुई पार्टीको कुल मत १६१८८ रहेको छ।

काठमाण्डौ क्षेत्र नं ३ का वडा अध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा पाँच दलीय गठबन्धन बन्दा नेकपा एमाले गठबन्धन भन्दा २३९३ मतले पछाडी रहेको देखिन्छ।काठमाडौं क्षेत्र नं ३ मा नेकपा एमाले र राप्रपा विच गठबन्धन नबनेमा  पाँच दलीय गठबन्धन नेकपा एमाले भन्दा ३७०७ मतले अगाडी रहेको छ।

२०७४ सालमा गठबन्धनकै बलमा प्रतिनिधि सभामा विजयी बनेको नेकपा एमालेका सम्भावित उम्मेदवार मध्यका एक कृष्ण राईलाई गठबन्धनले खतराको घन्टी बजाईसकेको छ। राईलाई चुनाब जित्न गठबन्धनसंगै एमालेका प्रभावशाली नेताहरु हरीकृष्ण श्रेष्ठ,पुण्यप्रसाद चौलागाई र उद्धव विष्टलाई मिलाएर लानुपर्ने अर्को चुनौती छ।

बादल बन्न सक्छन् साझा उम्मेदवार

राम बहादुर थापा ‘बादल’

नेकपा एमाले काठमाडौं क्षेत्र नं ३ मा व्यापक तिक्तता बढे पार्टीका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’लाई अघि सार्ने कार्यकर्ताको तयारी छ । राष्ट्रिय स्तरको नेता क्षेत्रमा नहुँदा दुख पाएका काठमाडौं ३ का जनता राम बहादुर थापालाई उम्मेदवार बनाएर क्षेत्रको मुहार फेर्न सकिने बुझाईमा रहेको पाइएको छ । कृष्ण राईले सिंको नभाँचेकोलेपनी जनता विकल्प खोज्न बाध्य भएका हुन् । बादल उम्मेदवार हुँदा काठमाडौं ३ मा एमालेको सिट सुरक्षित हुने भएकाले केपी ओलीलाई भेटेर कन्भिन्स गर्न अगुवा नेता कार्यकर्ता लागेको बुझिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij