• Wednesday 9th of September 2026

गगन थापालाई काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताको खुल्ला पत्र


  • आशाका किरण

प्रिय गगनकुमार थापाज्यू
नेपाली कांग्रेसका तर्फबाट उमेदवार क्षेत्र नं चार काठमाडौं  ।

पन्ध्र वर्ष सांसद भएका, अनि एक पटक पनि नजितेकाहरुका लागि समान प्रश्न हुन सक्दैनन् । मैले हिजोका दिनमा मतदान गरेको र निरन्तर योगदान गरेको दलसंबद्ध उमेदवारसंग यी प्रश्न हुन् । भोलिका दिनमा यो वा त्यो गर्ने भाषण, घोषणापत्र वा संकल्प आदि मत माग्ने कलामा मात्रै सहजीकरणकालागि जारी गरिएको हो भन्नेमलाई राम्ररी थाहा छ । यसर्थ म काठ्माण्डौं जिल्ला निर्वाचन क्षेत्र ४ को निवासीको हैसियतमा हिजोका जसलाई मतदान गरेको थिएं त्यसैका आधारमा आज मताधिकार कुन रुपमा प्रयोग गर्ने विषयमा विचार र केही प्रश्नहरु प्रस्तुत गर्दैछु :
(क) चुनावी गठबन्धन :
चुनावी गठबन्धन सिद्धान्तविहीन शक्ति र सत्ताको आधार वाहेक केही पनि होइन । सिद्धान्त परित्याग गरेपछि सत्ताको भोक मेट्न मात्रै संयुक्त चुनावी गठबन्धन हो ।यसर्थ अवशासनमा पुग्ने जोसुकै पनि अवसरवादी छायाबाट मुक्त हुने छैन जसलाई स्वाभाविक मानिने छ । पार्टी, नेता र उमेदवार अवसरवादी भएको हुनाले पार्टीका सहकर्मी सदस्यहरुदेखि मतदाताले मात्रै अनुशासित, सिद्धान्तनिष्ट हुनुपर्छ र मत दिनुपर्छ भन्ने हुँदैन । सम्पूर्ण मतदाता र नागरिक तहमा समेत सिद्धान्त र विचार ,गठबन्धन र यसका उमेदवारहरुले अवसरवादको विस्कुन छरेका छन् । तथाकथित पुस्तान्तरण, नयाँ पुस्तान्तरण मिसन, भिजनका नारा लगाउनेहरु समेत अवसरवादी राजनीतिका पक्षपोषक, समर्थक भएको हुनाले गठबन्धनका नाममा उमेदवारी दिएका सबै उमेदवार पूर्ण अवसरवादी सत्ताका भरिया हुन् भन्ने मेरो विचार छ । यही विचारलाई केन्द्रमा राख्दै मताधिकार प्रयोग गर्नु भन्दा पहिले मेरा यी प्रश्नहरु यस अघि मैले मत दिएका मेरा उमेदवारलाई हो , उहाँ हुनुहुन्छ गगन थापाः

(१) विद्यादेवी भण्डारीलाई पराजित गर्ने प्राध्यापक बौद्धिक सुप्रभा घिमिरेले किन तपाईका कारण रुदै विद्रोही वन्नुपरेको थियो यो क्षेत्रबाट ?
(२) अहिले नरोत्तम वैद्य, राधा घले,लोकेश ढकाल, कर्माछिरिड. सेर्पा , अनार वस्नेत, जस्ता पुराना अनेक संघर्षशील व्यक्तित्वहरुलाई तपाई आफै सक्रियभएर महामन्त्री रहेको क्षेत्रबाट किन पाखा लगाइयो ?
(३) तपाई पन्ध्र वर्षदेखि यो क्षेत्रको प्रतिनिधित्व गरिरहे पनि ढलमा वहेर यौटा बालकको दुखान्त मृत्यु हुँदा समेत तपाईको ह्रृदयपग्लेन र विकासको गफ दिइरहनु सही हो ?
(४) बालकांग्रेसको संयोजक हुँदै स्ववियु सभापतिहुँदा तपाईको ज्यादती त्रिचन्द्र कलेजको क्यान्टिन प्रकरण, पर्खालनिर्माण र ल्याव सामानको ठेक्का प्रकरण सम्मको विगत त अव छोपिइ सकेको छ ।
(५) अव प्याक्टको अनुदानका वाख्रा र कुमार घैटे प्रसंगको कुनै अर्थ छैन । यी सबै विगतमा पुरिएका विषय हुन् । ती विषयहरुले अभिलेखमा आफूलाई सुरक्षित राख्ने हुनाले सदा प्रश्नका रुपमा उठिरहने छन् । तर यहाँ केहीमूल सैद्धान्तिक , व्यवहारिक विषयहरु मात्रै उठाउने प्रयत्नहो यौटा मतदाताको हैसियतले ।

(ख) अवसरवादको चरित्र पात्र :
आफै लोकतान्त्रिक पार्टीको जिम्मेदार भएर किन अवसरवादी कित्तामा उभिनु भएको हो ?

किन आफ्नो अडान राख्ननसकेको हो ?

भोलिका पुस्ता र नेतृत्वलाई समेत अवसरवादी राजमार्गमा हिडाउने प्रयास किन गरिरहेको हो ?

लोकतन्त्रका मूल्यका पक्षमा, सिद्धान्त र विचारका पक्षमा अतिरिक्त अडान राख्न सकेको भए यो यौटा निर्वाचनमा जय पराजय वा उमेदवारी विहीन भए पनि सिद्धान्तको रक्षा गर्ने जिम्मेवारीबाट भविष्य सुखद् हुने सुनिश्चित थियो । अपवित्र , सिद्धान्त विहीन बाटोबाट भोलि जस्तोसुकै जिम्मेदारी लिए पनि त्यसले स्थापित गरेको अवसरवादबाट नेतृत्व, पार्टी र नागरिक तह मुक्त हुन सक्दैन जसका कारण संघीय लोकतान्त्रिक गणतन्त्र उपहास्य र अस्वीकार्य हुने खतरा पैदा हुने छ । जसको चरित्र पात्र तपाई समेत गठबन्धनका सबै पक्षहरु मानि नुहुने छ ।
(ग) मिसन पीएमको नारा कसको भरमा ?
मेरो  क्षेत्रका मैले विगत दुई पटकसम्म मत दिएका र म आफै पचास वर्षको लगानी गरेको पार्टीका उमेदवार गगन थापासंग प्रश्न सोधिरहनु पर्दा प्रिय अनुभव भएको छैन । तर सोध्नै पर्ने भएको छ ।तपाई आफैले ड्राइभिड. सिटमा अव आफै वस्ने र अवको प्रधानमन्त्रीको उमेदवार मै हूंँ भनेर घोषणा गर्नुभएको छ ।भोलिका दिनमा विधि सम्मत ढंगले तपाई प्रधानमन्त्री हुनुभयो भने म जस्ता धेरैले प्रशंसा गर्नेछन् । तर विधिविरोधी, अहंकारी, विवेकविहीन महत्वाकांक्षी ,सिद्धान्त विहीन भएर र अवसरवादको गाडीमा सवार भएर प्रधानमन्त्रीको, सत्ता र शक्तिको सपना वाँड्नु हुन्छ भने त्यो स्वीकार्य हुँदैन । प्रतिनिधि सभामा पुग्ने जो सुकै सांसद पनि पार्टीको सहमति र संसदीय दलको समर्थनबाट नेता हुनसक्छ । तर प्रधानमन्त्रीय प्रणाली नभएको र कार्यकारी पदमा प्रत्यक्ष निर्वाचन नहुने अवस्थामाअहिले नेपालमा संसदीय प्रणाली छ भन्ने हेक्का हुनु जरुरी छ । यसै कारण म भोलिको प्रधानमन्त्री हूँ भन्दै जनतालाई मूर्ख बनाउने , झुक्याउने र धम्कीदिने काम लोकतन्त्र विरोधीअहंकार हो । पार्टीले अमूक व्यक्तिको नेतृत्वमा चुनाव लड्ने निर्णय गरेको अवस्थामा मात्रै त्यस्तो दावी हुन्छ । अन्यथा अहिले नेपाली कांग्रेसका जस जसले आफूलाई प्रधानमन्त्रीको दावी गरिरहनु भएको छर केही बुद्धिजीवीहरु समेत त्यस दावीका कुशल प्रचारक भइरहनु भएको छ त्यो सुनियोजित हो भन्ने देखिन्छ । अथवा भन्नुपर्यो : संसदीय समितिमा वा केन्द्रीय समितिमा आफूले यस निर्वाचनको नेतृत्व गर्ने प्रस्ताव गगनजी वा अरु दावेदारहरु को थियो । त्यस्तो प्रस्ताव थियो भने कमसेकम सार्वजनिक हुनुपर्ने थियो । अवकसका भरमा उहाँहरु प्रधानमन्त्रीको दावी गरिरहनु भएको छ ? प्रश्न उठ्छ कि उठ्दैन ?

(घ) अस्थीरता र अवसरवाद :
म तपाईको विगत व्यक्तिगत भएको हुनाले कोट्याउन चाहन्न । तपाईको त्रिचन्द्र अध्ययन गर्दा होस् कि कीर्तिपुरको नेता हुँदा होस् अथवा नेपाल विद्यार्थी संघको नेता भएका समयमा के गर्नुभयो वहस गरिरहनु उचित नहोला । तपाईंले ०६२ । ०६३ को आन्दोलनमा गरेको योगदान, पाएको चर्चा सबैलाई थाहा छ । केही संचारमाध्यमहरुको मिसन नै तपाईंमा केन्द्रित थियो भन्ने कुरा हामी जस्ता पुराना पाठकहरुलाई राम्रो जानकारी छ । त्यसैले नेपाली कांग्रेसका तत्कालीन सभापति तथा संयुक्त जनआन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाले गर्नु भएको टिप्पणी र त्यही टिप्पणीका कारण ०६४ को संविधान सभामा तपाईलाई समानुपातिकमा पठाउनु पर्ने बाध्यता कसरी र कुन रुपमा उहाँलाई आइपर्यो त्यस समयका कांग्रेसका त्यस वैठकमा सहभागी केही नेताहरुले विर्सनु भएको छैन होला । मैले भनिरहनु जरुरी भएन ।
त्यसपछि पहिले कृष्णप्रसाद सिटौलासंग सहकार्य गरी नेतृत्वमा एक पक्ष देखिनुभयो । तपाईका कर्म पिता ( पिता समान ससुरा ) अर्जुन नरसिंह केसीलाई हराउन आफै महामन्त्रीको उमेदवार हुनुभयो ०७२ मा संपन्न नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा । पहिले देउवा विरुद्ध र लगत्तै उहाँकै पक्षमा तपाईको योगदान रह्यो । त्यसपछि तपाई १४ औं महाधिवेशनमा आएर स्थानीय तहमा काठमाडौंको राजनीतिलाई आफ्नो पकडमा राख्ने योजना तहत पहिले गणेशमान सिंहका सुपुत्र र काठमाडौंका प्रभावकारी नेता प्रकाशमान सिंहसंग गठबन्धन गर्नुभयो । त्यस समयमा काठ्माण्डौं ४ का सबै वडाहरुमा दवावपूर्वक सेटिड. गर्नुभयो , जसका कारण चार वापाँचदशकभन्दा बढी योगदान गरेका पार्टीकालागिचलायमान र अझै एक डेढ दशकपर्याप्त योगदान गर्नसक्नेहरुलाई समेत अपमानपूर्वक रोक्नुभयो । अन्तिममातपाई प्रकाशमानसंगको सहकार्यलाई परित्याग गरी डा. शेखरको समूहमा पुग्नुभयो । यसरी हेर्दा तपाईंको राजनीतिक यात्रा आफै अवसरवादी पाठशाला हुन पुगेको छ । तपाई आफ्नो यो अवसरवादी पृष्ठभूमिलाई कसरी छोप्न सक्नुहुन्छ र सचेत मतदाताहरुसंग मत माग्नु हुन्छ ?अनि तपाई यो देशको नेतृत्वमा पुग्नु भयो र तपाईकै दावी अनुसार प्रधानमन्त्री हुनुभयो भने कस्तो होला यो देशको तस्वीर ?
(ङ) सिद्धान्त र आचरणको प्रश्न :
(१) अवको राजनीतिमा सिद्धान्तसंगै आचरण र व्यवहारको ठूलो महत्व रहेको छ । राजनीतिशास्त्रीहरुले सिद्धान्तसंग आचरण र व्यवहार मिलाएर मात्रै अध्ययन अध्यापन गर्दछन् ।तपाईको अरु व्यवहारवारे जानकारी जरुरी भएन । तर तपाई सर्वसाधारण मतदाताको पहूँच भन्दा निकै टाढा वस्ने गर्नुहुन्छ । तपाईको सूचना संपर्क हुदैन । तपाईको फोन वा म्यासेजमा खवर गरेपनि उत्तर दिनुहुन्न । तपाई सबैभन्दा बढी झूट र ढाँटको पुलिन्दा देखिनुहुन्छ । कुनै घरमा यो दिन, यो समयमा म अनिवार्य आउँछु भनेपछि तपाई त्यस घरका मानिसलाई पर्खाउने तर विना खवर त्यहाँ नपुग्ने, असमर्थता नजनाउने, सूचना सम्पर्क वा क्षमायाचना नगर्ने र मानिसहरुलाई मनोवैज्ञानिक यातनादिने काम गर्नुहुन्छ । गरिरहनु भएको छ । देशको नेतृत्व गर्ने मानिसको यस्तै चरित्र र स्वभाव हुन्छ ?
(२) आफूसंग प्रतिस्पर्धा  हुन सक्ने वा थोरै असहमत राख्नेहरु सबैलाई फेदैदेखि जराबाट नै निर्मूल पार्न प्रयत्नशील हुनु सही व्यवहार हुन्छ ?

तपाई पार्टीको महामन्त्री तर तपाईको क्षेत्रका योगदान गर्नेहरुका केही नामहरु समानुपातिक सिफारिसमा परेका थिए । तर संसदीय समितिमा तपाइंले अन्यत्रका तपाईका कोही पि.ए. वा कोही अरु कारणले सहयोगीका पक्षमा अडान राख्नुभयो र यहाँकालागि एक शब्द उच्चारण गर्नुभएन । किन?

यसो गर्दा एक्लै यो क्षेत्रको नेता भनेर स्थापितहुने तपाईको चाहना प्रमाणित हुँदैन ?
(च) नयाँ पुस्ताको प्रचार पुरानै कर्म :
तपाई नयाँ पुस्ताको दावी गरिरहनु भएको छ । भिजन र मिसन भएको प्रचार गराई रहनु भएको छ । नयाँ पुस्ताको दावी गर्दा :
(क) के तपाई पार्टीको वा देशको निर्वाचनमा अराजक खर्च रोक्न सक्नुहुन्छ । अहिलेको निर्वाचन हेर्दा पहिले पार्टी र नेतासंग टिकट किन्नु पर्ने, समानुपातिक र प्रत्यक्षका, अनि प्रदेश र पालिका सबैका फरक मूल्यहरु तोकिने गरेका छन् । तपाई त्यसमा संलग्न छैन, हुन्न र यस्तो कुसंस्कार विरुद्ध जुनसुकै अवस्थामापनि रहनेछु भनेर संकल्पकासाथ विस्वास दिन सक्नुहुन्छ ?
(ख) पार्टीको नेतृत्वमा पुग्न पार्टीका सदस्यहरु समेत किन वेचमा  छन् । नेतृत्वलाई शुल्क वुझाएर टिममा रहने, माथिल्लो स्थानमा पुग्ने सदस्यहरुलाई खरीद गर्नुपर्ने अपसंस्कृतिले गहिरो जरा गाडेको छ । के यसलाई रोक्न सक्नु हुन्छ ? पार्टीको चौधौं महाधिवेशन र आसन्न संघीय निर्वाचन प्रचारक्रमलाई समेत म जस्ता सचेत मतदाताहरुले राम्ररी मूल्याँकन गरिरहेको स्मरण गराउनु यहाँ उचित हुने छ ।
(ग)तपाईको खर्च, आय र स्रोत देखि आजको आर्थिक र हिजोको आर्थिक अवस्था सार्वजनिक गर्न सक्नुहुन्छ  ? निर्वाचनमा सानो परिचय, आफूले गरेका कामहरु र चुनाव चिन्ह घरघरमा पुर्याउन वाहेक एक पैसा पनि अरु खर्च गर्ने छैन वा गरेको छैन भनेर भन्न सक्नु हुन्छ ? चुनावमा उमेदवार हुने र राष्ट्रलाई योगदान दिने चाहना राख्ने तर सम्पत्ति नहुनेहरु सडकमानै रहनु पर्ने स्थितिलाई आफूबाट नै अन्त्य गर्ने सुरुवात गर्नुहुन्छ ?
(घ) पार्टी भित्र माथिकालाई लडाउने, तलकालाई किच्ने, समकालीनलाई भ्रमित तुल्याउने परम्परागत शैली छोड्न सक्नुहुन्छ ? पार्टीको अधिकांश नेताहरुले आफूलाई मालिक वा ईश्वर जस्तो र अरुलाई नोकर चाकर कमारो ठानिरहेका छन् , तपाईँका व्यवहार र आचरण पनि भिन्न देखिएनन् । तपाई के यसमा परिवर्तन गर्न सक्नुहुन्छ ?
यी माथिका प्रश्नहरुकाआधारमा सकारात्मक पक्षतर्फ आफूलाई उभ्याउन सक्नुहुन्न भने सभापति देउवा, गिरिजाप्रसाद, केपी ओली वा पुष्पकमल दाहालभन्दा तपाई कसरी फरक ? विचारमात्र परिवर्तन होइनआचरण र व्यवहारमा परिवर्तन हुनु जरुरी छ ।
(ड.) अनेक सामाजिक कुरीतिहरु छन् । बोक्साबोक्सी प्रथा, दाइजो, छाउपडी, छुवाछूत त्यस विरुद्ध तपाईको आन्दोलन केन्द्रित छैन । भ्रष्टाचार विरुद्ध शब्दको खेती वाहेक केही छैन । राप्रपाका अध्यक्ष राजेन्द्र लिड.देन समेतले भ्रष्टाचार गरेर पैसा कमाउनु भनेको आमाको रगत पिउनु समान हो भनेर प्रतिज्ञा गर्दा तपाईहरु किन यसरी नै वोल्न सक्नुहुन्न?
(च) रोजगारीको आधार खै ? सामाजिक योगदानका लागि स्रोत कहाँ छ ? विदेशमा रोजगारीमा रहेका पचास लाखभन्दा वढी श्रमजीवीहरु देखि सीप र शिक्षा पाएका करीव दश लाख नेपाली युवाहरु एक वर्ष भित्र नेपाल फर्के भने कसरी व्यवस्थापन गर्न सकिन्छ ? छ कुनै योजना?
(छ) प्रधानमन्त्री भएमा आफूसंग योजना रहेको दावी गरिरहनु भएको तपाईले पार्टीको घोषणा पत्रमा ती विषयलाई किन समावेश गर्नुभएन? के तपाई स्वतन्त्र रुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका पक्षमा उभिनु भएको हो ? अन्यथा तपाईका विचार त पार्टीको दस्तावेजमा आउनु पर्ने होइन? तपाई एक्लै त चुनाव लडिरहनु भएको छैन । कि अर्को कुनै पार्टीको तयारीमा हुनुहुन्छ ?
यस्ता अनेक प्रश्नहरु छन् जो आचरणगत, सिद्धान्तगत, विचार र नीतिगत छन् । तर प्रतीकात्मक प्रश्न मात्र हुन् यी ।

(छ) बुद्धिजीवीहरुको समर्थन र सम्मानको प्रसंग :
केही दिन पहिले मसंग आएर एकजना नेपाली कांग्रेसका जिम्मेवार  साथीले वडो जोड्संग भन्नुभयो , गगनजी जस्तो डायनामिक युवा नेतृत्व पाउनु गौरवको विषय हो ।

उहाँ वुद्धिजीवीहरुकोअसाध्य सम्मान गर्नुहुन्छ । उहाँ हर समय सहकार्य गर्न र जिम्मेवारीसाथ बुद्धिजीवीहरुलाई अघि बढाउन चाहनु हुन्छ ।
म पनि डायनामिक नेता र नेतृत्वहोस्, सोच र व्यवहारले नै सभ्य, सुसंस्कृत, आचरणमा शुद्ध होस् भन्ने चाहना राख्छु । मलाई उहाँको कुराले निकै प्रसन्न तुल्याएपनि केही प्रश्नहरु उहाँसंग राखें :
गगनजी १५ वर्षसम्म (पहिलो करीव ६ वर्ष समानुपातिक भएपनि यसै क्षेत्रको स्थायी वासिन्दा भएको ) काठ्माण्डौं ४ को प्रतिनिधित्व गरिरहनु भएको छ ।

चार नम्वर क्षेत्रका कति जना बुद्धिजीवीहरु विश्वविद्यालयको जिम्मेवारीमा पुगेछन् ?

कति जनाराष्ट्रिय सभा वा प्रतिनिधि सभामा पुगे छन् ?

कोही प्रदेशको यस्तै जिम्मेवारीमा पुगे छन् कि ?

विभिन्न साहित्यिक, सांस्कृतिक प्रतिष्ठानमा कति जना पुग्नुभयो यो क्षेत्रबाट ?

कति जना सामाजिक जीवनमा विशिष्ठ योगदान गर्नेहरु राष्ट्रिय स्तरमा संमानित हुनुभयो ?

दश एघार वटा सरकारी संवैधानिक आयोगहरु छन् , तिनमा कति जनाले जिम्मेवारी पाउनु भयो यो क्षेत्रबाट ?

न्यायालयमा कति जनाले यस क्षेत्रबाट नियुक्ति पाउनु भयो ?

स्वास्थ्य, शिक्षा, संचार क्षेत्रमा यस क्षेत्रबाट कति बुद्धिजीवीहरु जिम्मेवारी हुनपाए ? सिद्धान्त विरुद्ध शक्ति र सत्ताको मात्रै भाग वण्डा भएर गगनजीहरु जस्ता सबै नेताहुनु पर्ने अनि अरु बाँकी सबैले उहाँहरुको झोला वोक्नु पर्ने ?
उहाँ स्वास्थ्यमन्त्री भएको समयमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाउपकुलपति भएका हुन् अत्यन्त विवादास्पद नियुक्ति मानिन्छ त्यो । विचरा उनी पछि आर्थिक विवादमा तानिएका थिए ।
नेपाली कांग्रेसको प्रभावशाली दावी गर्ने, सबैको सहयोग लिन चाहने गगनजीले कुन बुद्धिजीवीलाई जिम्मेवारी दिनु भयो त ?

कि केही सहयोगी र प्रचार कर्मीहरुलाई मात्रै वुद्धिजीवी ठान्नुभएको हो कि ?
मेरा प्रश्न र उत्तरबाट मौन हुनुभयो ।

मेरो अर्को प्रश्न थियो : पार्टीको सिढीमा कतिजना उहाँका कारण माथिल्लो खुड्किलोमा पुग्नु भएको छ ?

यस क्षेत्रबाट कतिजना केन्द्रमा पुगे ? कति जनाले महत्वपूर्ण जिम्मेवारी पाए पार्टीमा ?

सहकार्यको अर्थ यही र यस्तै हो त ?

(तथापि यस वेला भूकम्प २०७२ सालको पीडाको समयमा नेपालको यौटा चर्चित राष्ट्रिय दैनिक( जसले तपाईलाई राजनीतिमा हर क्षण हुर्काउने (कल्टिभेट) मिसन बनाएको देखिन्छ )

कान्तिपुरमा प्रकाशित यौटा तस्वीरको स्मरण भइरहेको छ ।

नक्साल स्थित केन्द्रीय वहिरा स्कूलमा पुगेर गगनजीले भूकम्प पीडितकालागि इटा वोक्न लागेको क्याप्सन सहितको फोटो थियो ।

तर त्यस समयमा जो उपस्थित थिए सबैलाई के थाहा थियो भने : इटा वोक्दै गरेको ठाउँमा पुगेर तपाईले यौटा इटा समत्नु भयो र हातमा लिनु भयो र त्यही फोटो प्रकाशित भयो । तपाईले त्यो भत्केको विद्यालयकालागि कुनै सहयोग गर्नुभएन ।

अहिले त्यसै क्षेत्रमा पुगेर मत माग्न खोज्दा यस्तो नाटकीय दृश्य देखेका मतदाताहरु के भनि रहनु भएको होला ?
अन्त्यमा : जे भए पनि गगनजी तपाईको उन्नति र प्रगति होस् । तर म सचेत मतदाताका यी प्रश्नहरु सदा उत्तरणीय छन् र हुनेछन् त्यो नविर्सनु होला ।

धन्यवाद !

राजु शर्मा
वडा नम्बर १                                                    भवदीय
एक सचेत सार्वभौम मतदाता ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij