• Wednesday 9th of September 2026

यही व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने सङ्कल्प छ : अध्यक्ष रवि लामिछाने


  • आशाका किरण

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ ।

चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताउनुभयो ।

“हाम्रो विजय देशमा परिवर्तन चाहने आम दाजुभाई तथा दिदीबहिनीको हो”, उहाँले भन्नुभयो । संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार दलका रुपमा अगाडि बढाउने उहाँको भनाइ छ ।

“मुलुक र नागरिकको हित के गर्दा हुन्छ भन्ने विषयमा जिम्मेवार भएर प्रस्तुत हुन्छौँ”, उहाँले भन्नुभयो, “अघिल्लो पुस्तासँग भएको निराशा र हामीसँग भएको आशा एवं अपेक्षामा खरो उत्रनेछौँ ।”

उहाँले अहिलेनै सरकारमा जाने वा नजाने भन्ने विषयमा टुङ्गो नलागेको बताउनुभयो । “पार्टीको बैठकबाट यसबारे निर्णय गर्छौ”, उहाँले भन्नुभयो, “एक सय दिनमा एक सय युवा स्वदेश फर्काउने चुनावी ऐजेण्डा कार्यान्वयनमा ल्याउने छौँ ।”

उहाँले जुन कुरा आम नागरिकको हितमा हुन्छ आफू त्यसको पक्षमा हुने बताउनुभयो । “मैले कहिँकतै बाटो बिराए भने खबरदारी गर्नुहोला, मलाई मतदान गरी विजयी गराउने सबैमा आभार व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij