• Wednesday 9th of September 2026

जिम्मेवारी र चुनौती थपिएको छ : प्रधानमन्त्री दाहाल


  • आशाका किरण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताउनुभएको छ ।

गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उहाँले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले यसलाई आफूले एउटा ठूलो चुनौती र अवसरका रुपमा लिएको समेत उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्नेसमेत बताउनु भएको छ । उहाँले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालन लगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

“ विकासका अधुरा परियोजनालाई अगाडि बढाउने र देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरा मेरो प्राथमिकतामा छ”, उहाँले भन्नुभयो, “ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर अगाडि बढ्नेछु ।” प्रधानमन्त्री दाहालले निर्वाचनका क्रममा आफूले गरेका प्रतिबद्धतलाई पूरा गर्ने बताउनुभयो । “निर्वाचन अभियान दौरानमा तपाइँहरुको अगाडि गरेको वाचा कबुलहरु राम्रैसँग सम्झना छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “गोरखाको जिल्लाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर झन्डै राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न पाउँदा मलाई गर्व पनि छ ।” उहाँले गोरखा जिल्लाका जनताले आफूलाई निर्वाचित गराएर सबै नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त भएको भन्दै गोरखाका मतदाताहरुलाई धन्यवादसमेत दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij