• Saturday 25th of July 2026

भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुँदैन : सांसद केसी


  • आशाका किरण

सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुन नसक्ने स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षकोे नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद केसीले नीति तथा कार्यक्रममा सुशासनप्रतिको प्रतिबद्धता गरिएको भन्दै सुशासन कायम गर्नका लागि भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक रहेको बताउनुभयो ।

“हामीले प्रत्येक वर्षको बजेट र नीति तथा कार्यक्रममा भ्रष्टाचारप्रति शून्य सहनशीलताको कुरा गर्छौ तर यो कुरा सुन्दा–सुन्दा जनताको कान टट्याइसकेको छ”, उहाँले भन्नुभयो, “अब भ्रष्टाचारप्रतिको शून्य सहनशीलता व्यवहारमा उतार्न सक्नुपर्छ ।” उहाँले स्थानीय र प्रदेश तहमा पनि बेरुजु देखिएको बताउनुभयो ।

उहाँले प्रतिपक्षी दलका नेताले कुनै पनि कालखण्डको भ्रष्टाचार छानबिनको कुरा गरिसकेको भन्दै सरकारलाई काम गर्न सहज भएको बताउनुभयो ।

उहाँले बेरोजगारी, महँगी तथा श्रमका लागि विदेशमा जानुपर्ने समस्या समाधान गर्न आग्रह गर्नुभयो । उहाँले कृषिमा औद्योगिकीकरण, व्यापारिकरण र व्यावसायीकरण गर्न निरन्तर आवाज उठाउँदै आइएको भन्दै किसानलाई सक्षम, सुदृढ र सबल बनाएर कृषि क्षेत्रलाई विशेषरुपले प्रभावकारी रुपमा परिचालन गर्न सकियो भने विदेश पलायन हुने युवाहरुलाई आकर्षित गर्न सकिने बताउनुभयो ।

उहाँले भनसुनको राजनीति र मनसुनको खेतीमा निर्भर रहने अवस्थाले राष्ट्रिय अर्थतन्त्रलाई राष्ट्रिय दिशानिर्देशन गर्ने विषयमा सबल र सुदृढ गराउन नसक्ने बताउनुभयो ।

“नीति तथा कार्यक्रम आशावादी छ तर कार्यान्वयनको प्रतिबद्धतासहित संस्थागत विकास र व्यवस्थापकीय सहयोग जररुी छ”, उहाँले भन्नुभयो, “जनतामा भएको आकाङ्क्षा सम्बोधन गर्न अहिलेकै संयन्त्र र साधनस्रोतले सम्भव छैन ।”

उहाँले नीति तथा कार्यक्रममा सर्वसुलभ शिक्षाको विषय उठान गरिए पनि अझै पनि सङ्घीय शिक्षा ऐन र शिक्षा नीति आउन नसकेको बताउनुभयो । उहाँले सङ्घीय शिक्षा ऐन नबन्दा केन्द्र, प्रदेश र स्थानीयतहमा शैक्षिक अराजकताको अवस्था निर्माण भइरहेका बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij