• Wednesday 9th of September 2026

कांग्रेस विधिसम्मत् ढङ्गले चल्न सकेन: नेता सिंह


  • आशाका किरण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसकेको बताउनुभएको छ । नेपाल ट्रेडयुनियन कांग्रेस वाग्मती प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अफ्ट्यारोमा परेको बताउनुभएको हो ।

“प्रजातान्त्रिक पार्टी कांग्रेस प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चल्न सकेन, विधि र विधानअनुसार चल्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो,” नेता सिंहले भन्नुभयो । ट्रेड युनियनका मुद्दा सम्बोधन गर्न कांग्रेस लागिपर्ने स्पष्ट पार्दै उहाँले योग्य र ट्रेड युनियन हाक्नसक्ने नेतृत्वलाई चयन गर्न प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य रमा पौडेलले कांग्रेसलाई बलियो बनाउन ट्रेड युनियन कांग्रेस बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुुभयो । उहाँले ट्रेड युनियन कांग्रेस र पार्टीको नेतृत्वलाई जोड्न आफू लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले पार्टीका नेतृत्वले मजदुरको समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो गर्नुुभयो ।

उहाँले मुलुकको सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन कांग्रेसको सङ्गठन विस्तार गर्न ट्रेड युनियन कांग्रेस लागेको बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव, महासचिव योगेन्द्र कुँवरलगायतले पार्टीको विधानमा मजदुरको मुद्दालाई समावेश गर्न पार्टी नेतृत्व लाग्नुपर्ने बताउनुभयो ।आजदेखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij