• Tuesday 8th of September 2026

‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा


  • आशाका किरण

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान र ऐनबमोजिम नीति, नियम, निर्देशिका र आचारसंहिता हुनुपर्नेमा जोड दिनुभएको छ ।
हाम्रा अधिकांश ऐनमा एउटा कुरा उल्लेख हुन्छ भने नियममा अर्कै कुरा हुन्छ, त्यसैगरी नीति एउटा बनाइन्छ भने व्यवहार, निर्देशिका र आचासंहितामा अर्कोकुरा उल्लेख भएकाले अब तिनमा तालमेल गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले यदी ऐन सही छैन भने त्यसलाई संशोधन गरी ऐनबमोजिम नियम बनाउनुपर्नेमा जोड दिनुभयो ।

विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित ‘विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल’ कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएकी शर्माले विज्ञापन नीति निर्माण गर्नुभन्दा पनि कार्यान्वयन कसरी गर्ने भन्नेबारेमा प्रष्ट दृष्टिकोण र योजना हुनुपर्ने बताउनुभयो । “विज्ञापन नीतिको मस्यौदामा धेरै विषयवस्तु समेटिएको छ तर यसलाई कार्यान्वयनमा कसरी लैजान्छौँ, यसको कार्यान्वयनका लागि मेकानिजम कसरी बनाउँछौँ र कसरी व्यवस्थित ढङ्गबाट अगाडि बढाउँछौँ भन्ने विषय नै मुख्य कुरा हो भन्ने मलाई लाग्छ”, उहाँको भनाइ थियो ।

कतिपय गलत विज्ञापनका कारण मान्छेको ज्यान जानेसम्मको अवस्था आउनु गलत भएको बताउँदै मन्त्री शर्माले त्यसको व्यवस्थापनका निम्ति पनि प्रष्ट नीति आवश्यक रहेकामा जोड दिनुभयो । मानव स्वास्थ्यको हिसाबले के कुराको विज्ञापन गर्न मिल्छ के कुराको विज्ञापन गर्न मिल्दैन भन्ने विषयमा पनि अति बढी कडाइ हुनुपर्ने उहाँले बताउनुभयो।
नेपालको संविधान, ऐन÷कानुन, नीति, नियम र आचारसंहिता प्रतिकूल हुने गरी विज्ञापन गर्न नपाइनेमा जोड दिँदै मन्त्री शर्माले पछिल्लो समयमा विकास भएको डिजिटल मिडिया वा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्नुपर्ने र विज्ञापन निर्माणका क्रममा मानव स्वास्थ्यलाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरोकारवाला सबै पक्षको सल्लाह सुझावलाई समावेश गरेर विज्ञापन नीतिलाई अझै परिमार्जन र परिष्कृत बनाइने बताउनुभयो । विज्ञापनको बजार विस्तारलाई पनि विज्ञापन नीतिमा समावेश गरिने उहाँको भनाइ थियो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले मिडिया खोल्न पाउने लोकतान्त्रिक अधिकारलाई बहसको विषय बनाउन नहुने तर विज्ञापनको प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “कतै राम्रो मिडियाले विज्ञापन पाएको छैन, कतै सामान्यले पाइरहेको छ, त्यसैले समानुपातिक विज्ञापन वितरण हुनुपर्छ ।” नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हिमराज ढकालले विज्ञापन नीति बनाउनेभन्दा त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख गर्र्नुुभयो ।

नेपाल विज्ञापन सङ्घका अध्यक्ष सोम धितालले नेपालको सानो बजारमा धेरै मिडिया आवश्यक नभएकाले तिनलाई एक आपसमा गाभ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रलाई पारदर्शी, व्यावसायिक, मर्यादित, उत्तरदायी र उपभोक्ता लक्षित बनाउने उद्देश्यले विज्ञापन नीति ल्याउने तयारी गरिएको प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij