• Tuesday 8th of September 2026

चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री


  • आशाका किरण

काठमाडौँ, १४ असोज: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउँदै उहाँले भ्रमणबाट दुवै देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो ।

“मेरो चीन भ्रमण चिनियाँ राष्ट्रपति सी चीनफिङले सन् २०१९ मा गर्नुभएको नेपाल भ्रमणपछि नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । कोभिड–१९ महमामारीका कारण लामो समयदेखि उच्चस्तरमा कुनै भ्रमण नभएका सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई सुदृढ गरेको छ”, उहाँले भन्नुभयो ।

भ्रमणका क्रममा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन सहयोग प्राप्त भएको जानकारी दिँदै उहाँले विगतमा भएका समझदारीको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको बताउनुभयो ।

“चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र छलफल हुँदा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातयात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित हुनुपर्ने मैले राखेको धारणाप्रति उहाँहरुले चीनको पूर्ण समर्थन रहेको बताउनुभयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले उच्चस्तरीय भेटमा उत्तरी सीमा क्षेत्रमा प्रशारण लाइन निर्माण, सीमा क्षेत्रमा रहेको भूभागमा केन्द्रीय विद्युत प्रशारण प्रणालीबाट विद्युत् पु-याउन नसकिने स्थानमा सौर्य प्रणालीबाट विद्युत् जडान, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका तथा परम्परागत सीमा नाकाको पुनः सञ्चालन, सीमा नाकामा नेपालमा पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार निर्माणमा छलफल भएको सदनलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij