नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रम फैलाउनेहरुलाई नियन्त्रण गर्न आमसंचार माध्यमले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले पुनः लोकतन्त्र मासिए सबैभन्दा बढी प्रहार र दुख संचारमाध्यमले भोग्नुपर्ने बताउदै तथ्यमा आधारित भएर सामाजिक संजालमा भईरहेको प्रविधिको दुरुपयोग नियन्त्रणमा बताउनुभयो ।
उहाले कुनै पनि हालतमा राजतन्त्र व्युत्याउन सम्भव नभएको स्पष्ट पार्दै गणतान्त्रिक सोच भएका जनताले कदापी नस्विकार्ने बताउनुभयो । महासचिव पोखरेलले पछिल्लो समय जनतामा देखिएको निराशा अन्त्य गर्न छलफल गरिनुपर्ने धारणा राख्नुभयो ।
राजनैतिक स्थिरताका लागि दुई ठुला दल मिलेको बताउदै राजनैतिक स्थायित्वका लागि राजनैतिक स्थिरता आवश्यक भएको र राजनैतिक स्थिरताका लागि राजनैतिक धु्रविकरण आवश्यक रहेको उहाले बताउनुभयो ।
तीन दिन सम्म आयोजना हुने सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । महाधिवेशनमा करिब ९ सय प्रतिनिधिहरु सहभागि भएको आयोजकले जनाएको छ । महाधिवेशन उद्घाटन कार्यक्रममा प्रेस चौतारी नेपालले स्थापना गरेको विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो । सो क्रममा ५१ हजार राशीको हृदयचन्द्र सिंह प्रधान स्मृति पुरस्कार मातृका पौडेललाई प्रदान गरिएको थियो ।
