• Friday 24th of July 2026

कोरोना कहर र प्रधानमन्त्रीको रहस्यमय मौनता


  • आशाका किरण
पृष्ठभुमि – विश्व
यतिबेला नोवल कोरोना भाइरस(कोभिड-१९) को विश्वव्यापी संक्रमण र महामारीबाट गुज्रीरहेको छ । विश्वको इतिहासमा मानव जातिले यस्ता भायनक त्रासदीहरु कमै झेल्नु पर्छ,त्यो पनि विश्वव्यापी रुपमा एकैसाथ।खरबारीमा लागेको आगो जस्तै विश्वको एक कुनाबाट अर्को कुनासम्म फैलिएको यो महामारी मानव सभ्यता माथि कै घनघोर संकट हो । महामारी सुरु भएको ३ महिना पुग्दा नपुग्दै यति ठूलो संख्यामा मानिसहरु संक्रमित हुनु र मृत्युवरण गर्नु सामान्य कुरा होइन । विकासको चरमोत्कर्षमा पुगेका संसारका अति शक्तिशाली राष्ट्रहरु समेतलाई हावाकावा खेलाइरहेको यस महामारीले चिकित्सा विज्ञानलाई समेत गम्भीर रुपले रन्थनाएको छ र एउटा गंभिर चुनौती खडा गरेको छ।प्रकृतिलाई आफ्नो नियन्त्रणमा लिने महत्वाकांक्षा सहित अघि बढेको चिकित्सा विज्ञानको यात्रामा यो घटना गंभिर अबरोध हो । मानिसले जतिसुकै ठुला र महान उपलब्धि हासिल गरेता पनि प्रकृतिको गर्भमा रहेका रहस्यहरुमाथी विजय प्राप्त गर्न निकै दुरुह छ भन्ने कुराको जीवन्त दृष्टान्त हो यो।वर्तमान संसारले हासिल गरेको ज्ञान र पहुँच भन्दा बाहिर रहेका यस्ता अनेक रहस्य र संकटहरुको बारेमा मानव समाज अझै अनभिज्ञ रहेको छ भन्ने कुराको गतिलो उदाहरण हो । २०१९ को डिसेम्बर १० मा चीनको वुहान सहरमा माछा व्यापारी महिला मिकु जियानमा देखिएको पहिलो कोरोना भाईरसको लक्षणलेआजसम्म आईपुग्दा विश्वव्यापी महामारीको रुपको धारण गरिसकेको छ र संसारभर त्राहिमाम मच्चाएको छ । यसले प्रकृतिको सुन्दर अङ्गको रुपमा परेको मानव जातिको अस्तित्वमा नै प्रश्न चिन्ह उब्जाईदिएको छ ।
कोरोना र नेपाल
विश्वव्यापी कोरोना संक्रमणबाट नेपाल अछुतो रहने भन्ने प्रश्नै हुँदैनथ्यो । भयो पनि त्यस्तै ।हामीहरु समेत अर्थात् नेपाल समेत यसको चपेटामा पर्यो । संसारका धनी र विकसित राष्ट्रहरुका अगाडी नेपाल गरिब र पछौटे छ । अझ स्वास्थ्य र शिक्षाको क्षेत्रमा यो निकै पछाडी रहेको छ । यहाँको अस्पतालहरु र यहाँ हुने उपचार कि त अविश्वासनिय छन् कि त अचाक्ली महँगा छन् । सरकारी अस्पतालहरुमा राम्रो उपचार हुँदैन भन्ने जनविश्वास छ । निजि अस्पतालहरुमा सर्वसाधारणले उपाचार गर्न सक्दैनन् । जनताको स्वास्थ्यप्रति राज्य जवाफदेही र उत्तरदायी छैन । सरकारी अस्पतालहरु एक प्रकारले मसानघाटजस्तै छन् । सरकारी चिकित्सकहरु विरामीलाई आफ्ना नर्सिङ होममा जान प्रोत्साहित गर्दछन् । पैसा नहुने गरिबहरु रोगबाट थलिएर मर्नुपर्दछ । धनीमानी, ठूलो नेता र पहुँच भएका ब्यक्तिहरु निजि अस्पताल र आवश्यक परे विदेश धाउँछन । गरिब जनता सामान्य झाडापखाला लागेर जीवन गुमाउन बाध्य छन् । यो नेपालको कटु यथार्थ हो । साँच्चै भन्ने हो भने अपवाद बाहेक नेपालको चिकित्सा जगत दलाल व्यवसायीहरुको चंगुलमा छ । सरकार र नेताहरु उनीहरुको साझेदार र मतियार बनेका छन् ।नेपालका विद्यालय, कलेज र विश्वविद्यालयहरु दलाल उत्पादन गर्ने कारखाना भएका छन् । यसैबीच ३ महिना अघि अर्थात डिसेम्बर १० २०१९ बाट सुरु भएको कोरोना संक्रमण नेपालमा पनि निर्वाध रुपमा प्रवेश गरेको छ । तीनतिर भारतको खुल्ला सिमाना रहेको र उत्तरपट्टी कोरोनाको जन्मभुमि चीनको बिचमा रहेको नेपाल यो संक्रमणबाट अलग रहने कुरै थिएन । यो विषयको पुर्वानुमान सबैलाई थियो । अझ सरकारमा बसेर स्वास्थ क्षेत्रको जिम्मेवारी सम्हालेकाहरुले त यसलाई समयमै गम्भीरतापूर्वक लिनु पर्दथ्यो तर दुर्भाग्य,कोरोना भाईरसले विश्वव्यापी यात्रा गरिसक्दा पनि नेपालका सरकारी अधिकारीहरु निन्द्राबाट ब्युझिँएनन । झण्डै १५-२० दिन अघिसम्म नेपालको दैनिकी सामान्य चलिरह्यो । लाग्दथ्यो की संसारमा केही भएको छैन । जब यो महामारी भारत प्रवेश गर्यो ,त्यहाँको सरकारले तिब्र गतिविधि अघि बढायो । अनिमात्र नेपाल चीर निन्द्राबाट ब्युझिएझै गर्यो । कोरोना सुरु भएको अढाई महिनासम्म बिना तयारी वरको सिन्को परसम्म नसारी नेपाल सरकार चुपचाप बस्नु संवेदनहीनताको पराकाष्ठा थियो ।
जुध्ने तयारी
मानवजातिलाई नैं धरासायी पार्ने तागत भएको भयानक महामारीको दुष्प्रभावलाई रोक्ने र संक्रमित ब्यक्तिहरुको उचित स्वास्थोपचार गर्ने कुनै तयारी नेपालले गर्दै गरेन । यसको अर्थ नेपाल सरकार जिम्मेवार छैन भन्ने कुरा स्पस्ट हुन्छ । नेपालका अन्य राजनीतिक दलहरुले समेत यसलाई गम्भीरतापूर्वक लिएनन् । अपवादका केही नेता र ब्यक्तीहरु बाहेक कोरोनाको विश्वव्यापी यात्राको रमिता र समाचार हेरेर पढेर आनन्द मानी रहे । यसको परिणाम जब नेपालको विभिन्न ठाउँहरुमा विदेशबाट आएका ब्यक्तीहरुबाट कोरोना संक्रमणको लक्षणहरु देखिन थाले ,तब पनि त्यसको उचित चेकजाँच गर्ने कुनै ब्यवस्थापन देखिएन । तीन तहको सरकारहरु रहेको नेपालका सरकारी अस्पतालहरुमा यसको समयमै उपाचार प्रारम्भ भएन । बदलामा कोरोना जाँच्ने स्वास्थ्य उपकरणहरुको अभाव रहेको देखाईयो । यसका लागि स्वास्थ्य उपकरण र सामाग्री ल्याउन स्वास्थ्य मन्त्रालयले टेन्डर समेत गरेको समाचार बाहिर आयो । तर खै के कारण हो, अन्त्यमा टेन्डर रद्ध गरि तीन घण्टाभित्र एउटा निजि कम्पनीलाई जहाज समेत उपलब्ध गराउने शर्तमा सवा अर्बा भन्दा बढिको समान किन्ने जिम्मेवारी दिईयो । एक त समयमा काम भएन त्यसमाथी गरिएको टेण्डर रद्ध गरि एउटा कम्पनी विषेशलाई जिम्मेवारी दिईयो । अझ त्यस कम्पनीले ल्याएका कतिपय सामानहरु विश्व स्वास्थ्य संगठनले प्रयोगको अनुमती नदिएका र मापदण्ड पूरा नगरेका पाईए । यो भन्दा गैरजिम्मेवार कार्य अर्को हुनै सक्दैन । कोरोनासंग जुध्न सिंगो राष्ट्र एक भएको बेला पनि सरकारले तदारुकताकासाथ काम गर्न नसक्नु साँच्चै दुर्भाग्यपूर्ण रहेको छ । हुन त यस अघि नै सिमा अतिक्रमणका सन्दर्भमा पनि राष्ट्र एक हुँदा समेत सरकारले काम गर्न सकेको थिएन ।
अनियमितता र भ्रस्टाचार
नागरिकको आवश्यकताले राज्यको उद्भव भएको हो ।र यो असंख्य परिवारहरुको सर्वोच्च एकाई पनि हो । नागरिकका हरेक परिवार राज्यका आधारभूत एकाई
हुन् । असुरक्षा,भोक,रोग र आपत बिपतमा नागरिकले राज्यको संरक्षण र सहयोग खोज्छ । दैवी विपत्ती र अन्य संकटमा राज्य गुहार्छ । नत्र यसको आवश्यकता नै पर्ने थिएन । मानिस र पशुमा केही आधारभुत समानताहरु पाईन्छ । यी दुबै प्रकृतिका अंग हुन् र सुन्दर उपहार पनि । यीनीहरु सास फेर्छन र जिवित प्राणी हुन् । भोक,श्वास,भय,निन्द्रा र मैथुन यीनीहरुको जैविक आवश्यकता हुन् । खाना ,हावा र पानी बिना यी बाँच्न सक्दैनन् । जन्म मृत्युको चक्र समान हुन्छ, केबल आयु लामो छोटो मात्र हो । तथापी मानिस र पशुमा केही भिन्नताहरु समेत छन् । मान्छेमा पशुभन्दा केही अतिरिक्त गुणहरु पनि विद्यमान हुन्छन् । पशुमा विवेक र उन्नत चेतना हुदैन, जो मानिसमाहुन्छ । मान्छे सोच्न सक्छ,के गर्न हुन्छ ,के गर्न हुँदैन छुट्टाउन सक्छ ।यसैले संसारका अरु प्राणिभन्दा मानिस श्रेष्ठ छ ।राजनिती र सरकार मानिसले चलाएको विषय हो अर्थात् विवेकशील र चेतनासम्पन्न जातिले संचालन गरेको विधा हो । सरकारले राज्यको तर्फबाट काम गर्छ र यो राज्यको औजार हो । त्यसैले नागरिकहरुले सरकारसँग अपेक्षा गर्छन् । संकटका बेला हारगुहार गर्दछन । कोरोना संक्रमण सुरु हुने बित्तिकै नेपाली जनताले सरकारले आवश्यक तयारी गरोस् भन्ने चाहेका थिए । तयारी भन्नाले संभावित संक्रमणसंग जुध्न वा उपचार गर्न आवश्यक स्वास्थ सामग्री र उपकरण जोहो गरोस् भन्ने हो । नेपाल सरकारले दुई अढाई महीना पहिलादेखी तयारी त गरेन गरेन अहिले आएर यस्तो बिपतको बेलामा सामान खरिद गर्दा ठूलो पैमानामा अनियमितता भएको समाचार तथ्य सहित बाहिर आउनु साँच्चै दुखद विषय हो । आफैंले तिरेको करबाट आफैंले छानेका गोठालाहरुबाट आफ्नै उपचारको नाममा यसरी भ्रष्टाचार हुन्छ या यस्तो आपतको बेलमा पनि राष्ट्रिय ढुकुटीमा र्याल काढ्छ्न भन्ने अनुमान जनताले गरेका थिएनन् । यो भन्दा घिनलाग्दो र लाजमर्दो कुरा अर्को हुन सक्दैन ।जनताको नाममा सपथ खाएका ब्यक्तीहरुले यस्तो कर्म गर्ने कुरा सोच्नु पनि हुँदैन । देश आपतमा छ, टेण्डर रद्द हुन्छ ,चार/पाँच गुणा महँगोमा सामान ल्याईन्छ्, त्यो पनि कतिपय काम नलाग्ने हुन्छ र सँगसँगै भ्रष्टाचारको विषय छरस्पस्ट हुन्छ । यस्तो देशमा जनताले सरकारसंग के आश गर्ने ? साँच्चै भन्ने हो भने यस्तो राज्य किन चाहियो ? यत्रा भाते गोठालाहरु किन राख्ने ? यो कुरा नेपाल र नेपालीको लागि साँच्चै नै लज्जाको विषय भएको छ ।र गरिब निमुखा जनताले आश गर्ने ठाउँ समाप्त भएको होकी भन्ने चिन्ता बढेको छ ।
अब के गर्ने ?
कोरोना भाइरससंग जुध्ने तयारी पहिला देखिनै गरिनुपर्ने थियो, गरिएन तथापी यस संकटसँग जुध्न सकिन्थ्यो र सकिन्छ पनि । यस पंक्तिकारले यो विषयमा आफ्ना धारणाहरु विभिन्न माध्यमहरुबाट सार्वजनिक गर्दै आएको पनि हो । हामीसँग तीन तहका सरकारहरु छन् । यी सरकारहरू लोकतान्त्रिक गणतन्त्रका शोभा या गहनामात्र होइन। नेपालको संविधान र यहाँको कानुन ब्यवस्थाले यिनीहरुको काम, कर्तव्य र दायित्व निर्धारण गरेको छ । केन्द्रदेखी स्थानीय तहसम्म फैलिएका यी सरकारहरुको गरिब जनतासम्म पहुँच छ । कोरोना भाइरस व्यापक भएर नेपालसम्म आउनुमा मानिसहरुको आवतजावत र सम्पर्क नै हो । यस विचमा अर्थात् पछिल्लो तीन महिनामा नेपाल भित्र भएकाे मानिसहरुको आवागमनको लेखाजोखा सरकारले सजिलै राख्न सक्छ । अझ स्थानिय सरकारले आफ्ना इकाईहरुमा आउने जानेको तथ्यांक राख्न गार्हो छैन । नवअागन्तुकहरुले यसको सुचना दिन गार्हो मान्नु हुदैन । यसका लागि सरकारी संयन्त्रका अलावा स्वयंसेवक परिचालन गर्न सकिन्छ । एक त सचेतना लागि सचेतना दस्ता नै बनाउनु पर्दथ्यो ।अझै पनि बनाउन ढिला भएको छैन । युवाहरुले संकटको समयमा नै राष्ट्रका लागि योगदान गर्ने हो । वडाका टोल टोलमा गएर सुरक्षित रुपमा सचेतना बढाउने, केही आधारभुत स्वास्थ्य सामग्रीहरु बाँड्ने र आउने जाने नागरिकको तथ्यांक संकलन गर्न सकिन्थ्यो र अझै सकिन्छ पनि ।यसैगरी कोरोना संक्रमणका लक्षण देखिएका ब्यक्तिहरु पत्ता लगाउन पनि सकिन्छ । यसका साथै देशमा उपलब्ध स्वास्थकर्मीहरुलाई व्यवस्थित रुपमा परिचालन गर्न सकिन्छ । ७५३ वटै स्थानिय तहमा संभव नभएपनि 77वटै जिल्लामा रहेका स्वास्थ केन्द्रमा कोरोना जाँचको प्रबन्ध मिलाउन गार्हो छैन । यसकालागि दृढ इच्छाशक्ति चाहिन्छ । इमान र नैतिकता भएको नेता तथा अधिकारीले मात्र यो काम गर्न सक्छ । कर्मचारीतन्त्र,सेना प्रहरी,सामाजिक कार्यकर्ता सबै एकैसाथ परिचालित हुन सक्छन् । हजारौंको संख्यामा कृयाशिल रहेका भनिएका गैरसरकारी संस्थाहरु क कुन दुलोमा पसेका छन् । पैसा ल्याएर छरछार पारेर खाने काम बाहेक राष्ट्र संकटमा परेको बेला काम नलाग्ने ती संस्थाहरुको के काम ?फेरि वर्तमान सरकार समर्थित गैरसरकारी संस्थाकै बाहुल्यता रहेको छ नेपालमा । यति सानो देश र पुग्नपुग तीन करोड जनसंख्यालाई ब्यवस्थित गर्नु त्यति गार्हो काम होइन । मुख्यतः सरकारले किनेर र कसैले दिन्छ भने अनुदानमा स्वास्थ्य सामग्री र उपकरणको व्यवस्था गरिहाल्नु पर्छ।त्यसैगरी चेकजाँचको दायरा बढाउनु पर्छ। त्यसैले कोरोनाको कहरबाट नेपाललाई मुक्त राख्न राज्यको नेतृत्वमा सामुहिक प्रयत्नको आवश्यकता पर्दछ । राज्यका जिम्मेवार व्यक्तिले धम्की को भाषा बोल्ने होइन। आफ्नोे लङ्गौटी सम्हाल्ने हो।सामुहिक प्रयत्न भन्नाले सुरक्षित र ब्यवस्थित रुपमा राज्यसंयन्त्र तथा स्वस्थ नागरिकहरुको परिचालन हो । शारीरिक रुपमा स्वस्थ नागरिक मात्र होइन, मानसिक रुपमा सनेत स्वस्थ नागरिक । असल र इमान्दार नेता चाहिन्छ यस्तो बेलामा। संकटको बेलामा मौका छोप्ने,आफ्नो फाईदा हेर्ने र तर मार्नेहरुलाई जनताले माफ गर्ने छैनन् ।
प्रधानमन्त्रीको अस्वाभाविक मौनता 
असल राजनितिज्ञ वा नेतालाई जनतालेअसाध्य श्रद्धा, प्रेम र माया गर्छन् । निर्वाचनमा हरेक पल्ट जिताउँछन ।ढाँट, छल ,षड्यन्त्र र पैसाको बलमा जित्ने कोही कोही बाहेक असल नेताले नै चुनाव जित्ने हो ।यस्को बदलामा जनताले नेताबाट कुशल नेतृत्व चाहान्छन् । नेता आफ्नो सेवामा समर्पित रहोस् र उ इमानदार होस् भन्ने आशा राख्दछन् । यो भन्दा ज्यादा जनताको चाहना हुँदैन । आफ्नो रुख्खा सुख्खा खाएर देशलाई नै योगदान दिइरहेका हुन्छन् । प्रतिफलमा देश उभो लागोस् र आफ्ना संततिले सुख पाउन भन्ने लालसा हुन्छ ।आधुनिक राजनीतिमा लोकतान्त्रिक प्रणाली अरु राजनीतिक प्रणालीभन्दा उत्तम मानिन्छ । यसले जनताको कुरा सुन्छ ,जनताको हित गर्छ भनिन्छ । जनताका सच्चा सेवक नै नेता बन्छन् भन्ने विश्वास गरिन्छ । त्यसैले यो प्रणालीमा कृयाशिल नेताहरु र राजनीतिक दलहरुले जनताको विश्वास तोड्नु हुँदैन । अहिले नेपालमा यही प्रणाली छ । अझ पछिल्लो पटक राजा समेत हटाएर पुर्ण लोकतान्त्रिक प्रणाली स्थापना गर्यौँ भनेका छन् नेपालका राजनीतिक दलहरुले । त्यसैले इमानदार भएर कामगर्नुपर्ने आवश्यकता देखिन्छ ।हुनत अहिले नेपालका प्रधानमन्त्री आफैं बिरामी हुनुहुन्छ र सायद बिस्तारै तङ्ग्रीदै हुनु हुन्छ । तथापि पनि कोरोना संक्रमणको प्रकरणमा स्वास्थ्य सामाग्री खरिदका विषयमा यति ठूलो भ्रस्टाचारको कुरा आउँदा स्वास्थ्यमन्त्रीको बचाउ गर्नु बाहेक उहाँ बोलेको वा सोधपुछ गरेको सुनिएको छैन । नेकपाका अर्का अध्यक्षले पनि खोज खबर गरेको सुनिएन । यस्तो उदासिनता किन? र खासगरी प्रधानमन्त्री केपी ओलीबाट के भएको हो ?कसरी भएको हो ? भनेर जनताले थाहा पाउनेगरी गंभिर चासो नदेखाउनुको कारण के हो ? यसले जनतामा संशय पैदा भएको छ ।नेपाली जनताले पाँचवर्षका लागि भनेर सरकार चलाउन दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरिएन भन्ने प्रश्न चौतर्फी उठिरहेको बेला प्रधानमन्त्रीको रहस्यमय मौनताले नेपालको राजनीतिक प्रणालीमै प्रश्न उठ्न सक्ने खतरा बढेर गएको छ । यस विषयमा प्रधानमन्त्रीले आफ्नो उप-प्रधानमन्त्री, स्वास्थ्यमन्त्री ,पर्यटनमन्त्री ,प्रमुख सल्लाहकार , आईटी विज्ञ र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई बोलाएर सोधपुछ गर्नुपर्छ कि पर्दैन ? आज नेपाली जनताले जान्न र बुझ्न चाहेको विषय यति हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij