• Friday 24th of July 2026

माओवादी कांग्रेस गठबन्धनले शर्मनाक पराजय नब्यहोरेको भए एमाले र माओवादीको एकता हुने थिएन


  • आशाका किरण

जीव्रो नचपाइकन भन्ने हो भने स्थानिय निर्वाचनमा माओवादी कांग्रेस गठबन्धनले शर्मनाक पराजय नब्यहोरेको भए एमाले माओवादीका विचमा पार्टी एकता हुने थिएन । त्यसकारण नेपालको वामपंथी आन्दोलनमा स्थानिय निर्वाचन र यसको परिणाम अत्यन्तै महत्वपूर्ण छ । यसले विभिन्न राजनैतिक शक्तिहरुलाई आफ्नो निति रणनीतिमा मात्र होइन, मुलभूत सिद्दान्तमा समेत सोच्न र परिवर्तनगर्न बाध्य तुल्याएको थियो । कांग्रेस त जिल्ल पर्यो पर्यो , सिङ्गै मधेशको ठेकेदार ठान्ने मधेशी पार्टीहरु समेत आफनो वास्तविक आकारमा समेटिए । कसैले चित्त नदुखाए हुन्छ, माओवादी त अस्तित्व रक्षाकै तहमा झर्यो । एमालेका नेताहरु फुरुङ्ग परे । यो फुरुङ्गपनले उनिहरुमा महत्वाकांक्षा पनि जगाइदियो । यहि महत्वाकांक्षाको जगमा नै बृहद वामपंथी एकताको विचार अङ्कुराएको थियो । फलस्वरुप एमाले माओवादी गठबन्धन हुँदै पार्टी एकतागर्नेसम्मको निर्णयमा उनिहरु पुगे । एमालेको बहुमत ल्याउने महत्वाकांक्षा र माओवादीको अस्तीत्व रक्षामात्र पार्टी एकताका लागि प्रयाप्त आधार थिएनन् । माओवादी पार्टीले आफ्ना परम्परागत मान्यता र सिद्धान्तको पूर्नमुल्याकंनगर्न तयार हुनु नै पार्टी एकताका लागि अर्को विश्वसनिय आधार बन्न सक्यो । त्यसैले संसदिय निर्वाचनमा गठबन्धन बन्यो र लगभग दुई तिहाईको बहुमत पनि प्राप्त भयो ।

माओवाद परित्याग, संसदिय लोकतन्त्रको आधारभूत सिद्धान्तको परिपालनमा तयार, हिसांत्मक आन्दोलनलाई अस्विकार, जनताको वहुदलिय जनवादको सवै मान्यताहरुलाई स्वीकारगर्न माओवादी तयार भयो जुन पार्टी एकताको आधारस्तम्भ हो । तसर्थ के भन्न सकिन्छ भने गत स्थानियतहको निर्वाचन र यसको परिणाम कम्यूनिष्ट आन्दोलनको सफलताको निम्ती कोशेढुङ्गाका रुपमा इतिहासमा सधै सम्झीरहने एउटा महत्वपूर्ण परिघटनाकोरुपमा अंकित हुन्छ ।तत्पश्चात नेपाली कम्यूनिष्ट आन्दोलनको विजययात्रा शुरु भयो । गत संसदिय निर्वाचनको परिणाम हामी सवैको सामुन्ने छ । नेकपाले संसदमा लगभग दुई तिहाई सिट प्राप्त गर्यो र सरकार बन्यो । हामीले बुझनुपर्ने अर्को तथ्य के हो भने यो सरकार नियमित सरकार होइन । नेपालका कम्यूनिष्टहरुको बृहद एकतासहितको सरकार हो । यो सफल भयो भने आउने दिनहरुको करिव आधा शताब्दी नेपाली कम्यूनिष्टहरुले नेपालमा राज्य गर्नेछन, असफल हुदा  पश्चिम बंगाल । के यो तथ्य प्रतिक्रियावादीहरुलाई थाहा छैन ? नेपाली कम्यूनिष्टहरुको यो विजययात्रा र सम्भावनाहरुका बारेमा देशी विदशी प्रतिक्रियावादीहरु बेखवर छन र शान्तिपूर्वक सरकार चलाउन दिन्छन भन्ने कसैले सोचेको थियो र छ भने त्यो मान्छे राजनैतिक हिसावले महामूर्ख हो ।

प्रतिक्रियावादीहरुको छटपटाहटले उनिहरु नाङ्गोहिसावले सरकार र पार्टीको विरोधमा उत्रिने थिए नै, उत्रिए पनि । तर सामनागर्नु कम्यूनिष्ट पार्टी र यसका कार्यकताहरुले के तयारी गरे त्यो चाँहि महत्व र अर्थपूर्ण हुन्छ । अहिले भइरहेको सरकारको विरोध ट्रेलरमात्र हो । मुख्य आक्रमण हुन बाँँकी नै छ । अहिले उनिहरुको विरोध असहयोगमा केन्द्रित छ । उदाहरणका लागि सरकारले यातायातमा बर्षाैदेखि कायम रहेको सिण्डिकेट हटाउन खोज्छ, यातायात व्यवशायीलाई उचालिन्छ, कामनगर्ने निर्माण व्यवशायीलाई कारवाहीगर्न खोज्छ, ठेकेदार उचालिन्छ । सरकारी कर्मचारी समायोजनमा अवरोध गरिन्छ । भूमिमा सुधार गर्न खोजिन्छ, माइतिघर मण्डलामा वितण्डा मच्चाइन्छ । विगतको सरकारले गरेका वाइडवडी काण्ड, सुन तश्करी र भूमि अपचलन जस्ता भ्रष्ठाचारजन्य क्रियाकलाप यहि सरकारले गरेको जस्तो गरेर सामाजिक सन्जाल रङ्गाइन्छ । त्यतिमात्र हो र ? राजा महेन्द्रको पालामा भारतले कब्जा गरेको नेपालीभूमि केपि ओली सरकारले बेच्यो भनेर कोकोहोलो मच्चाइन्छ र भूमि फिर्ता गर भन्दै माइतिघर मण्डलामा रुवावासी गरिन्छ । यस्ता थुप्रै उदाहरणहरु छन प्रतिक्रियावादी रोदनका । यी रोदनहरु स्वभाविक हुन, आक्रमणगर्न त बाकी नै छ । यी विरोधका स्वरहरु आक्रमणगर्नु पूर्वका अभ्याशहरुमात्रै हुन । प्रतिक्रियावादीहरुले मुख्य आक्रमण पार्टीभित्रै घुसेर गर्नेछन । जसरी कोरोना भाइरसले मानिसको शरिरभित्र प्रवेश गरेर मान्छेकै कोषलाई प्रयोग गरेर फोक्सो, कलेजो र मिर्गौलालाई विगारेर मान्छेलाई मार्छ, ठिक त्यहि नियममा प्रतिक्रियावादीहरुले कम्यूनिष्ट पार्टीलाई सिध्याउन प्रयत्न गर्नेछन । जनवर्गिय संगठनभित्र घुसेर, पार्टी निकट अनलाइन र पत्रिका चलाएर, नेताहरुको जिवनयापनमा सहयोग गरेर, नेता पुत्र पुत्री र श्रीमतीलाई विदेश भ्रमण गराएर, गाडी र बस्न घर नै प्रदान गरेर आदि इत्यादी अनेकौ प्रकारले प्रतिक्रियावादी भाइरसहरु कम्यूनिष्ट पार्टीमा प्रभावी भएर कम्यूनिष्ट पार्टीमाथि प्रहार गर्नेछन । यसवाट बँच्न कम्यूनिष्ट पार्टी हरदम तयार बस्नुको विकल्प छैन ।

अबको छलफलको मुख्य विषय भनेको पार्टी र सरकारलाई आक्रमणवाट कसरी जोगाउने भन्ने नै हो । जोगाउन सकिएन भने नेपाली कम्यूनिष्ट आन्दोलन सदाका लागि नेपाली धर्तीबाट विदा हुनेछ । यो सरकारको असफलता केवल क. केपी ओलीको असफलतामा टुङ्गिइने वाला छैन । यदि साँच्चिकै पार्टी र सरकार जोगाउने हो भने तत्काल यी दुई विषयमा छलफल प्रारम्भ गर्नुपर्दछ । पहिलो बाधक तत्वको पहिचान, दोश्रो पार्टीभित्रको शैलीगत त्रुटि ।बाधकहरु को को हुन सक्छन ? भ्रष्ट व्यूरोक्रेसी, दलाल पुँजिपति, अति हिन्दुवादी, राजतन्त्रवादी, लम्पट बुद्धिजिवि, कमिशनखोर, भूमाफिया र तश्करहरु कम्यूनिष्ट पार्टीका मात्र होइन, मुलककै दुश्मन हुन । यीनिहरुका विरुद्ध सम्झौताहिन संघर्ष नगरिकन पार्टी र सरकार जोगिन सक्दैन । यीनिहरुको जरा समाजको विभिन्न क्षेत्रको अन्तर्यसम्म पुगेको हुन्छ । हाम्रै पार्टीका तल्लो वा उपल्लो नेता कार्यकताहरुको चुलो चौका र बैठकमा समेत पुगेको हुनसक्छ । साँच्चै यीनीहरुका विरुध्द अन्तहिन संघर्षगर्ने हो भने हामीभित्रैवाट त्यसको खोजविन हुनुपर्दछ । अनिमात्र दुनियाले हाम्रो कुरा पत्याउनेछन र अनि यो संघर्षमा नेपाली जनता विजय बन्लान ।

दोश्रो पार्टीभित्र शैलिगत त्रुटि । हामी सवैलाई थाहा छ, माओवादी र एमाले कम्यूनिष्ट आन्दोलनभित्रका दुइ धार थिए । दुइ धार भनेको दुइ स्कूलिङ्ग हो । दुइ स्कूलिङ्ग भनेको दुइ शैली पनि हो । माओवादीहरुले आफ्ना मुलभूत सैद्धान्तिक मान्यताहरु त्याग गरिसकेपछि एकता भएको छ । अब सिद्धान्तको विवाद छैन । संगठनको पनि एकता लगभग सकिएको छ । अव एकता शैलीको हुनपर्छ, जुन अहिलेसम्म भएको छैन । माओवादीका सांगठनिक संरचनाहरु युद्धकालिन समयमा निर्माण भएका थिए । ती संरचनाहरुलाई लोकतान्त्रिक नबनाईकन लोकतान्त्रिक संरचना भएको एमालेमा एकता भएको छ । एमालेभित्र गाँउदेखि केन्द्रसम्म लोकतान्त्रिक तरिका निर्वाचन गरेर नै कमिटीहरु निर्माण गरिएको थियो । नेताका विचार र शैलीसंग असहमत नेता कार्यकर्ताहरुपनि संगठनभित्र अटाएका थिए । तर माओवादीभित्र त्यस्तो अभ्यास कहिल्यै पनि गरिएन । तसर्थ शैलिगत हिसावले अहिले पनि विभाजित छ । यो विभाजनलाई लोकतान्त्रिक तरिकाले हल नगरिकन समान शैलीको पार्टी निर्माण हुन सक्दैन । यहि शैलिगत भिन्नतालाई कायम राखेर प्रतिक्रियावादीहरुलाई परास्त गर्न सकिदैन । समाजवाद उन्मुख समाज निर्माण त धेरै टाढाको कुरा हो ।

दोश्रो प्रश्न भनेको पार्टी कस्को ? भन्ने नै हो । शिर्षस्थ नेताहरुले यो पार्टी निर्माण, विकाश र सफल मार्गनिर्देशन गरको तथ्य साँचो हो । उँहाहरुको अदम्य शाहस, त्याग र बलिदानको सर्वथा स्विकारयोग्य छ । तथापि यो प्रा.ली. होइन । यो नेताको मात्रै पार्टी होइन, न त कार्यकर्ताको मात्रै हो । यो त नेपाली श्रमजिवि जनताको साझा संस्था हो । हामीले भन्न सक्नुपर्दछ, नेता कमरेड तपाईको योगदानका लागि हार्दिक सलाम छ, तर यो तपाईहरुको साझेदारीको नीजि कम्पनि होइन । यो अकाट्य सत्यलाई नेताहरुले पनि बुझ्नुपर्छ । तथापि नेताहरुको क्रियाकलाप तदनुकुल छैनन । नाङ्गो आँखाले देखेको सत्य के हो भने छोरा छोरी श्रीमति सासु सम्धि सालो ज्वाई भिनाजू काका काकी जेठानहरुलाई पार्टीका जिम्वेवारी र राजकिय पदहरु किस्तीमा सजाएर पस्किएको छर्लङ्गै छ । केहि समय कार्यकर्ताहरु धैर्यगर्न सक्छन । बेलैमा गल्ति सच्चाइएन भने विष्फोट अवश्यभावी छ । यसका लक्षणहरु मन्चमा नेताहरुलाई हानिएको थप्पड, फयाकिएका चप्पल, जुत्ताहरुले चिच्याई चिच्याईकन बयान दिइरहेको छ । तसर्थ प्रतिक्रियावादीहरुसंग आँखा जुधाएर जुध्ने हो भने पार्टीलाई श्रमजिवी जनताहरुको साझा पार्टीको रुपमा विकशित गर्न जरुरी छ ।

अन्त्यमा,सरकारको समिक्षाको होडवाजी छ । सरकारमाथि प्रतिक्रियावादी हमला अव दोश्रो चरणमा प्रवेश गरेको छ । हिजो असहयोगको चरणमा थियो भने आज आक्रमणको चरणमा देखिन्छ । पार्टीभित्र कोरोना भाइरस पसेको तथ्य पार्टी निकटका अनलाइन र पत्रपत्रिकाहरुको स्वर र प्रतिक्रियावादीहरुको स्वर मिलेकोवाट पनि प्रष्ट हुन्छ । त्यस्ता स्वरहरुको फु्यजनले निस्केको स्याल हुँइयाको प्रतिवादगर्न ढिलो त भयो होला, तर क्षम्य भने कदापि हुदैन । अब सवैले भन्नुपर्दछ, “कमरेड ! शहरमा श्याल हँइया राम्रो सुनिदैन” ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij