दामोदर अर्याल-राज्य संचालनमा खुफिया एजेन्सीको प्रयोग राज्यको उत्पत्ति देखिनै हुदै आयो । आधुनिक राज्यप्रणालीमा त यसको महत्व अझ धेरै छ । सामान्यतया आन्तरिक सूचना र बाह्य सूचना प्राप्तगर्न यसको सहारा लिइने गरिन्छ । राज्यको आन्तरिक र बाह्य नीति तयगर्न खुफिया एजेन्सीको महत्वपूर्ण भूमिका हुने भएकोले शक्तिराष्ट्रहरुले त यसमा ठूलो लगानी गरेको पाउँछौ ।“र”,“केजिवि”,“सिविआई”,“आइएसआई” नेपालीहरुले सुनिरहने खुफिया एजेन्सीहरुका केहि नामहरु हुन ।आन्तरिक सुचना प्राप्तगर्न सम्वन्धित मुलुकले आफ्नै देशका नागरिकहरु सम्मिलित संस्था निर्माण गरेका भएपनि औपचारिक पदहरु बाहेक अन्य सूचना सङ्कलकहरु प्राय गोप्य नै राख्ने चलन छ । तर छिमेकी देश अथवा रणनैतिक महत्वका अन्य देशहरुको सूचना सङ्कलकहरु भने सम्बन्धित देशकै नागरिकहरुलाई प्रयोगगर्न पर्ने बाध्यता हुन्छ । सम्बन्धित देशकै नागरिक प्रयोगगर्दा सूचनामा पहूँच सरल हुन स्वभाविकै हो । अमेरिकामा केजिविका एजेण्टहरु र रुसमा सिविआईका एजेण्टहरु बेलाबेलामा पक्राउ परेका घटनाहरुले यसको पुष्टी गर्दछ ।
आधुनिक राज्यप्रणालीको जटिलतासंगै खुफिया एजेन्सीहरुको कार्यभारमा पनि परिवर्तन हुन अस्वभाविक होइन । पहिला यो सूचना संकलनमा मात्र सिमित थियो भने अहिले रणनैतिक महत्वका मुलुकहरुको सामाजिक,आर्थिक र राजनैतिक प्रणालीभित्र प्रभावपार्ने दायित्वसहित यो विकशित भएको हुन्छ ।यसैको सेरोफेरोमा अव हामीले हाम्रो मुलुकको चर्चा गरौ । भारत र चिन जस्ता संसारको उदयमान ठूला मुलुकको विचमा रहेको हाम्रो देश राजेनैतिकमात्र होइन, शैन्य रणनितिका हिसावले पनि महत्वपूर्ण हुन नौलो कुरा भएन । त्यसवाहेक पश्चिमा मुलुकको तिब्वतप्रतिको चासो र चिनलाई हेर्ने दृष्टिकोण तथा भारत पाकिस्तान विचको दुश्मनिपूर्ण सम्बन्ध र भारत नेपालको खुल्ला बोर्डरलाई दुरुपयोगगर्ने पाकिस्तानी चाहना आदिले नेपालमा उनिहरुको खुफिया उपस्थिति छ भन्न गाहे हुन्न । चिन र भारतको त महत्वपूर्ण चासो नहुने कुरै भएन । त्यसकारण खुफिया गतिविधिका हिसावले नेपाल दक्षिण एशियामा नै पश्चिमा मुलुकहरुका साथै, पाकिस्तान, भारत र चिनको क्रिणास्थल हो भन्न कुनै आइतवार पर्खनुपर्दैन ।
विभिन्न शक्तिराष्ट्रहरुको खुफिया उद्धेश्य फरक फरक होला । तर ति सवैको उद्धेश्य मिसन नेपाली जनताले थाहा पाउनपर्नेमात्र होइन, यसमा सामेल हुने नेपाली नागरिकताधारीहरुको पर्दाफास हुन पनि जरुरी हुन्छ । यदि त्यसोगर्न सकिएन भने हाम्रो जस्तो सानो मुलुकले आफ्नो सार्वभौमसत्ताको स्वतन्त्रतालाई बलियो बनाउन हम्मे हम्मे पर्दछ । र हामी इतिहासदेखि खुफियाहरुको लडाईको शिकार बन्दै पनि आइरहेका छौ । उनिहरुको भालेजुँधाईको परिणाम नै हाम्रो राजनैतिक अस्थिरताको एउटा प्रमुख कारकतत्व पनि हो ।
यो सानो टिपोटको उद्धेश्य भनेको भारतिय खुफिया एजेन्सीको नेपाली मिसन र त्यसमा क्रियाशिल नेपाली नागरिकताधारीको वारेमा अलिकति विषय उठानगर्नेमात्र हो । सतहमा देखिएको दृश्य के हो भने सिमाका कारण भारतको चिन र पाकिस्तानसंग दुश्मनीपूर्ण सम्बन्ध छ । तर यो पूर्ण सत्य होइन । समाजवादी चिनसँग भारतको राजनैतिक सम्बन्ध नै तिक्ततापूर्ण छ । पश्चिमाहरु र भारतको चिनलाई हेर्ने दृष्टिकोण एउटै हो । उनिहरु चिनको समाजवादी व्यवस्थालाई भत्काउने अभियानमा छन । तिब्वत मामिला र सिमा विवाद दोश्रो प्राथमिकता हो । तसर्थ यो कामको लागि भारत नेपालको भमि प्रयोगगर्न चाहान्छ । त्यसवाहेक हाम्रो विकाश निर्माण र प्राकृतिक श्रोत साधनमा भारतिय एकाधिकार पनि उनिहरुको खुफिया उद्धेश्यभित्रै पर्दछ । पाकिस्तान र चिनलाई नेपालमा गतिविधिगर्न नदिन उस्को अर्को अभिष्ट होला । त्यसभित्र नेपाललाई भारतसंरक्षित राष्ट्रमा रुपान्तरणगर्ने भारतिय ठूल्दाई भावनाले विकाश गरेको विस्तारवादी सोच पनि पर्ने नै भयो । यी सवै उद्धेश्य प्राप्तगर्नका लागि नेपाली राजनीतिमा आफ्नो प्रभाव कायम राखिराख्ने वाध्यतामा भारत छ र त्यहि उद्धेश्य परिपर्तिगर्नका खातिर उसले आफ्नो खुफिया एजेन्सी नेपालमा क्रियाशिल गराएको छ ।
तसर्थ विश्वव्यापि प्रचलन अनसार नै भारतिय खुफिया एजेन्सीले केहि नेपालीहरुलाई भाडामा लिएको हुनसक्छ । त्यस्तो संख्या नेपालमा कति होला ? एकिन संख्या त अनुसन्धान पछि थाहा होला, तथापि केहि जानकार मान्छेहरु त्यस्तो संख्या करिव २२ हजार भएको अनुमान गर्छन ।
उनिहरु खुफिया एजेन्सीहरुवाट नियमित तलब खाइरहेपनि औपचारिकहिसावले राज्यको सामाजिक, आर्थिक, राजनैतिकक्षेत्रमा छुट्टै परिचयकासाथ क्रियाशिल भएर लुकेका हुन्छन । राजकिय निकायहरुमा, राजनैतिकदलहरुमा, पत्रकारितामा, वौद्यिक व्यक्तित्वहरुमा, सामाजिक अभियन्ताहरुमा छिपेर रहेका ती एजेन्टहरु आवश्यकता अनुसार प्रकट हुन्छन । गहिरोसँग अध्ययनगर्ने हो अलि धमिलो आकारमा तिनीहरुको अनुहार चिन्न पनि सकिन्छ । इतिहासको कुरा छोडौ, समकालिन राजनीतिकै कुरागर्ने हो भने पनि हाम्रै वरीपरि चिनीने गरि तिनिहरु क्रियाशिल भएको पाइन्छ । उदाहरणकारुपमा एउटा दुईवटा घटना उल्लेख गरौ । हामी सवैलाई थाहा छ, वर्तमान संविधानप्रति भारत असन्तुष्ठ छ । मधेशवादीदलहरु आफ्ना केहि शर्तसहित संविधान निर्माणमा भाग लिएनन, यो बुझन सकिन्छ । तर नेपाली कांग्रेस र तत्कालिन माओवादीको सक्रियतामै यो संविधान बन्यो तर नेपाली कांग्रेसकै एकजना मर्धन्य वौद्यिक व्यक्तित्व र तत्कालिन माओवादीका एकजना शिर्ष व्यक्तिले नै यो संविधानमा हस्ताक्षर गर्नुभएको छैन भन्दा मान्छेलाई अचम्म लाग्छ । यसलाई कसरी बुझ्ने ? भारतले नाकाबन्दी गर्यो, केहि नेपाली नेताहरुले यो भारतिय नाकाबन्दी होइन भन्दै अन्र्तवार्ता दिएको हामी सवैलाई थाहा नै छ । पहाडतिर जातिय राज्यका नाममा १० प्रदेश, तराईमा भाषाका नाममा एक मधेश एक प्रदेश, यो कस्को नारा हो ? यो नेपाली जनताको राष्ट्रिय एकता विरोधि प्रस्ताव होइन ? यो विचारको श्रोत राजनैतिक हो कि खुफिया एजेन्सीको निर्देशन ?
हालसालैको घटनालाई मसिनो गरेर अध्ययनगर्ने हो भने पनि एजेन्सीका मान्छेहरुको अनुहार चिन्न गाहे पर्दैन । नेपालको वास्तविक नक्शाको घोषणापश्चात नेपाली अनुहारवाट भारतिय स्वरहरु मिडियामा प्रशस्त देख्न पाइन्छ । उनिहरुका स्वर यस्ता हुन्छन, “नक्शा घोषणा गरेर हुन्छ”, “जग्गा कहिल ल्याउने ?” “जग्गा फिर्ता आए केपि वलीको जुत्ता मोलेर बस्छ” “सत्ता जोगाउन प्रधानमन्त्रीले नक्शा ल्याए” “भारतसंग विवाद गरे नेपालको आर्थिकवृद्धि रोकिन्छ” आदि इत्यादी
संसदमा हिन्दी भाषाको पक्षमा माहौल खडागर्न खोज्ने, विश्व स्वास्थ संगठनको प्रोटोकल विपरित भारतले नेपालीहरुलाई परिक्षण नगरि क्वारेन्टाईनमा नराखी बोर्डरमा ल्याएर छोड्ने, सर्लाहीमा भारतिय जत्थाले शसस्त्र प्रहरी वलको हतियार खोस्ने जस्ता हेर्दा साना लाग्ने घटनाहरु संयोगमात्र होइनन । यो सवै नेपाललाई दवाव बढाउने भारतिय सरकारको प्रारम्भिक कदमहरु हुन । त्यसवाहेक दक्षिण एशियामामात्र होइन, थाईलैण्ड र जापानभन्दा पनि वढि औसतमा पिसिआर टेस्ट गर्ने नेपालमा उल्टै टेस्ट भएन भनेर प्रचारगर्ने मिडियाहरु एजेन्सीको फण्डिङ्गमा छैनन भन्ने आधार देखिदैन । जतिखेर नेपाली संसदले वास्तविक नक्शाको घोषणागर्ने तरखर गर्यो त्यसवेलादेखि नेपालमा सरकार विरोधी प्रर्दशन तिव्र भइरहेको छ । अचम्मको कुरा त के हो भने प्रदर्शनका आयोजक को हो आजसम्म कसैलाई थाहा छैन । त्यो भूमिगत आयोजक कतै भारतिय एजेन्सी त होइन ?
जतिजति भारत र नेपालका विच भूमि सम्वन्धि विवाद वढदैजान्छ त्यतित्यति “र” का एजेन्टहरुपनि सतहमा देखापर्दै जानेछन । भारतिय हितमा कामगर्ने नेपाली मिडियाहरुपनि नागिंने अवसर यहि हो । विद्धता छाटने केहि वद्धिजिवीहरु फ्रन्टलाईनमा देखिनेछन । सडकमा एजेन्सीका मान्छे नेपाली नागरिकता देखाउदै माइतीघर मण्डला र वालुवाटारको सडकमा कर्कश स्वरमा भारतिय धुन बजाउलान । पार्लियामेण्टमा केहि नांगीसके केहि नांगीने तयारीमा देखिदैछ । भारतिय एजेन्सी आवश्यकता अनुसार तहगत हिसावले उनिहरुलाई मैदानमा उतार्दै जान्छ, नेपाली जनताले त्यहि अनपातमा उनिहरुलाई चिन्दै जानेछन् ।
अर्को सत्य के हो भने भारतिय खुफिया एजेन्सीको चँगुलवाट मुलुकलाई मुक्तपार्ने यो अवसर पनि हो । त्यसकालागि जनताले मिडिया,संसद र सडकलाई मसिनोगरि अध्ययन गर्नुपर्छ । त्यसवाहेक सरकारले एउटा औपचारिक संयन्त्र नै वनाएर छानविनगर्न पनि आजको आवश्यकता हो । अन्यथा हामी विदेशी राष्ट्रको चलखेलका कारणले अस्थिर राजनीति ब्यहोर्न अभिशप्त भैरहने तथ्यमा कुनै शंका छैन ।
