ग्वालबालहरूसँग मिलेर दही चोरी गर्दागर्दै हलक्क बढिसकेको भए पनि माता यशोदाले कृष्णलाई टाढा टाढा जान दिएकी थिइनन् । तर कृष्ण भने गोकुलको पर्खाल नाघेर बाहिर जाने दाउ हेरेर बसेका थिए । आमाले सजिलोसँग बाहिर पठाउने छाँटकाँट नदेखेपछि उनले आफ्ना साथीहरूमध्ये एकजनालाई ‘घरमा बोलाउन आउनु भनेर सिकाए ।
सल्लाबमोजिम एकदिन ती साथी कृष्णलाई बोलाउन आइपुगे । ती साथीले बाहिरबाट कराउँदै भने, ‘कन्हैया ! कन्हैया ! हामी गाई चराउन जङ्गलतिर जाँदैछौँ । तिमी पनि आफ्ना गाई लिएर हामीसँगै आऊ ।’ साथीको आवाज सुनेर कृष्णले माता यशोदाछेऊ पुगेर भने, ‘मैया पनि पनि गाई लिएर जङ्गल जान्छु । तपाईँ चिन्तित हुनुपर्दैन । मसँग ठूलाठूला साथी हुनेछन् । मलाई जाने आज्ञा दिनुहोस् ।’
कृष्णको कुरा सुनेर यशोदाले भनिन्, हेर गोपाल ! जङ्गलमा गाई चराउन त्यति सजिलो हुँदैन । स–साना ढुङ्गा र काँडाले घोच्छ । बाटोमा सर्पजस्ता विषलु जीव हुन्छन् । तिम्रो सुकोमल गोडा त्यस्ता बाटोमा हिँड्न अभ्यस्त छैनन् । त्यसैले भोलि जुत्ता ल्याइदिउँला अनि मात्र जानु ।’
कृष्णले यशोदाको मुखतिर हेरेर भन्न थाले गोपाल त्यसलाई भनिन्छ जसले गाई चराउँछ । गाई चराउन सक्ने भएकैले मेरो नाम गोपाल राखिएको हो । फेरि गोपाल भनेको गाईहरूको नेता पनि हो । नेताले जे गर्छ उसका अनुयायीले पनि त्यही अनुकारण गर्छन् । फेरि नेताले आफ्ना अनुयायीको जे सामर्थ्य छ, त्यही गर्ने हो । मेरा गाईहरूसँग उनीहरूको खुट्टा बचाउनका लागि जुत्ता छैनन् । त्यसैले मैले पनि जुत्ता लगाउन ठिक छैन ।’
कृष्णका कुरा सुनेर यशोदा छक्क परिन् । कृष्णले थपे, ‘नेताहरूले जे गरे अनुयायीले पनि त्यही गर्न खोज्छ । मैले जुत्ता लगाएको देखेर गाईहरूले पनि जुत्ता लगाउने इच्छा गर्नेछन् । त्यसकारण गाईहरूसँग तिनको नेता पनि जुत्ता नलगाई जानेछ । नेताको आचरण उसका अनुयायीले थेग्न सक्ने किसिमको हुनुपर्छ ।’ छोराको तर्क सुनेर अवाक् भएकी माता यशोदाले केही नभनी उनलाई जङ्गल जाने अनुमति दिइन् ।
सत्ता र कुर्सीमा पुग्नेवित्तिकै नागरिकलाई भुल्ने र मोजमस्तीमा लाग्ने नेताहरूका लागि गतिलो पाठ यो यो प्रसङ्ग । तर उनीहरू यस्ता कुरा बुझ्नै चाहँदैनन् । बुझेर पनि बुझ पचाउँछन् । उनीहरूको ध्येय त अवसर पाएका वेला कसरी आफ्नो ढुकुटी भने र आफन्तलाइ अवसर दिलाउने भन्ने नै हुने गरेको छ ।
