अचेल राजनीतिमा धुन्धुकारीको खुब चर्चा हुन्छ । एकले अर्कालाई आलोचना गर्नु पर्यो भने धुन्धुकारी प्रवृत्ति, धुन्धुकारी चरित्र आदिको आरोप लगाइन्छ । आखिर को हुन्, धुन्धुकारी ? खराब व्यक्तिको उदाहरण दिन्दा उनलाई प्रतीक किन बनाइन्छ ?
धुन्धुकारी पौराणिक पात्र हुन् । असत् प्रवृत्तिका प्रतीक । पद्मपुराणमा उनको प्रसङ्ग आउँछ । प्राचीनहालमा तुङ्गभद्रा नदकिो किनारमा सुन्दर र उत्तम शहर थियो । शहरमा बस्ने सबै मानिस धर्म, सत्य र सत्कर्ममा रहेका थिए । त्यसै नगरमा धर्मको मर्म बुझ्ने, आफ्नो कर्तव्यमा लीन आत्मदेव ब्राह्मण पनि बस्थे । उनकी पत्नी थिइन्— धुन्धुली । उनी जिद्दी गर्ने र क्रूर स्वभाव भएकी थिइन् । तर पतिपत्नीमा प्रेम थियो । पुग्ने धनसम्पत्ति थियो । केही कुराको खाँचो थिएन । तर सन्तान थिएन ।
सन्तानप्राप्तिका लागि आत्मदेव–धुन्धुली दम्पतीले अनेक तीर्थ–व्रत गरे उपाय लागेन । पत्नीको दिनहुँको करकर सहन नसकी आत्मदेव एकदिन घर छोडेर हिँडे । वनका बिचमा रहेको एक नदीको किनारमा रोएर बसिरहेका थिए । त्यसैबखत एक सन्यासी आइपुगे र उनको दुःखबारे सोधे । आत्मदेवले सबै कुरा बताए । उनको यस्तो अवस्था देखेर ती सन्यासीको मनमा ठूलो दया उत्पन्न भयो । आत्मदेवको निधारको रेखा पढ्न थाले । ‘अहिले मात्र होइन, सातजन्मसम्म तिम्रो सन्तान देखिँदैन’, सन्यासीले भने, ‘कर्ममै नभएको कुरा बल नगर ब्राह्मण, घर फर्किऊ ।’
आत्मदेव के मान्थे झन् डाँको छाडेर रुन थाले । उनको यस्तो अवस्था देखेर सन्यासीले एउटा फल हातमा दिए र भने, ‘यो फल पत्नीलाई खान दिनु । अवश्य सन्तान हुनेछ ।’ फल दिँदै गर्दा उनले शर्त पनि राखे, फल खाएपछि एकवर्षसम्म साँचो मात्र बोल्ने, पवित्र रहने, दानादि कार्य गरिरहने, दिनभरमा एकपटक मात्र खाने’ आदि । फल पाएपछि आत्मदेव खुशी हुँदै फर्किए ।
घर पुगेर पत्नीका हातमा फल राखिदिँदै सबै कुरा बताए । पति आफ्ना कामतिर लागेपछि धुन्धुलीले विचार गर्न लागिन्, ‘यो फल खाएपछि मेरो भुँडी क्रमशः बढ्दै जानेछ । घरव्यवहारको काम गर्न पनि कठिनाइ हुनेछ । पालन गर्नुपर्ने नियम कडा छन् । फेरि बच्चा भनेको वेलामा बाहिर ननिस्की धेरै समय भित्रै रह्यो भने मेरो के हविगत होला । पाएपछि सन्तान हुर्काउन पनि सजिलो छैन ।’ यस्ता अनेक तर्क गर्दै उनले फल खान चाहिनन् । आत्मदेवले सोध्दा खाइसकेँ भन्ने जवाफ दिइन् ।
बहिनी आएका वेला धन्धुलीले आफ्नो पीर सुनाइनन् । बहिनीका धेरै सन्तान थिए । यसपटक पनि उनी गर्भवती थिइन् । यो पटकको बच्चा पाएपछि दिदीलाई दिने वाचा गर्दै त्यो फल गाईलाई खुवाउन सल्लाह दिइन् । बहिनीको आश्वासन सुनेर धुन्धुली खुशी भइन् । पेटमा कपडा बेरेर गर्भवती रहेको भान पार्न थालिन् । महिना बढ्दैगर्दा कपडाको मात्रा पनि बढाउँदै लगिन् । पत्नी गर्भवती भएको देखेर आत्मदेव खुशी थिए ।
समय पूरा भएपछि बहिनीले बच्चा पाइन् । राति लुसुक्क ल्याएर दिदीलाई दिइयो । आत्मदेव–धुन्धुलीलाई बच्चा भएको खबर फैलियो । सन्यासीले दिएको फल खाएको गाईले पनि केही महिनापछि मानिसको आकार भएको बच्चा पाइन् । धुन्धुलीका छोरा भएकाले धुन्धुकारी र गाईको कान आकारको भएकाले गोकर्ण नाम राखियो । सन्तानविहीन घरमा दुईवटा पुत्र भएपछि सुखको सीमा भएन ।
कालक्रममा दुवै जवान भए । गोकर्णचाहिँ बाबुको पथमा लागे । शास्त्रको ज्ञान पाई ज्ञानी बने । धुन्धुकारीचाहिँ दुष्ट प्रवृत्तिको भयो । ब्राह्मणले गर्नुपर्ने सामान्य आचरणका कुरा पनि पालना गर्दैनथ्यो । खानपिनमा कुनै बन्देज थिएन । क्रोधको मात्रा उच्च थियो । अरुको सामान चोरी गर्ने, खेलाउने बहानामा लिएका साना नानीलाई कुवा–तलाउमा हालिदिने, अरुको घरमा आगो लगाइदिनेजस्ता कर्म उसका लागि सामान्य थिए । अरु दुःखी भएको देखेर ऊ आनन्द लिन्थ्यो । वेश्यागमन उसको दैनन्दिनको कर्म थियो । घरमा बाबुआमालाई समेत पिटपाट पारेर हैरान पारेको थियो ।
यो देखेर गोकर्णले बुबालाई यो मायामोहमा फसेर नबस्न र वैराग्यको बाटोमा लाग्न सल्लाह दिए । छोराको ज्ञानले आत्मदेव वनतिर लागे । छोराको कर्मले आजित भएर आमाले पनि इनारमा हाम फालिन् । आमाबाबु नभएपछि गोकर्ण पनि तीर्थयात्रा हिँडे । गोकर्णलाई बाटो खुला भयो । अब त ऊ वेश्याहरूलाई लिएर घरमै बस्न थाल्यो । घरमा पाँचवटी वेश्या थिए । तिनैको इच्छामुताविक चोरी गर्थ्यो । चोरी गरेर अथाह सम्पत्ति पनि थुपारेको थियो । एकदिन पाँचै वेश्याले मतो गरे, कुनै न कुनै दिन यिनलाई राजाका सैनिकले पक्रिनेछन् । धन पनि लिएर जानेछन् । हामी पनि फस्नेछौँ । यो हुनअघि नै यिनलाई मारेर हामी धन लिएर भागौँ ।’
पाँचैजनाको सल्लाहबमोजिम एकरात सुतिरहेका बखत उनीहरूले धुन्धुकारीको हातगोडा डोरीले बाँध र घाँटी पनि कस्न थाले । तर धुन्धुकारी साह्रै ज्याद्रो भएकाले केही सी लागेन । त्यसपछि बल्दो आगोको फिलिङ्गो ल्याएर उसको मुखमा झोसिदिए । बडो आकुलब्याकुल गर्दै ऊ मर्यो । उसको मृत शरीरलाई ठूलो खाडल खनेर गाडिदिए । छिमेकीले सोद्धा धुन्धुकारी धन कमाउन परदेश गएको भन्थे । केही दिनपछि सबै धनसम्पत्ति लिएर पाँचै वेश्या भागे । धुन्धुकारी भने आफूले गरेका पापकर्मका कारण त्यही घरमा यत्रतत्र भौँतारिन थाल्यो ।
